सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको स्मृतिमा अवार्ड घोषणा

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १३ : ४८
सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको स्मृतिमा अवार्ड घोषणा

काठमाडौं। सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रीटी अफिसर अवार्ड प्रदान गरिने भएको छ ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवसदेखि उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेका हुन् ।

 

स्वर्गीय थपलियाको स्मृतिमा शुक्रवार पर्सा स्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले अवार्डको घोषणा गरेका हुन् ।पेशागत रुपमा दक्ष, उच्च अनुशासनलगायतका पक्षलाइ मूल्यांकन गर्दै प्रत्येक वर्ष एक जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने छ ।

स्व. थपलियाको १२ औं दिनको स्मृति कार्यक्रममा महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनु पर्दा संगठनलाई अपुरणीय क्षति पुगेको बताए ।यसैबीच महानिरीक्षक अर्यालसँगको भेटमा विरगन्ज उद्योग वाणिज्य संघले स्व. थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ ।

गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा विरगन्ज महानगरपालिकाका प्रमुख, उपप्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी, विरगन्ज भन्सारका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनिका बाहिनिपतिलगायत अन्य सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा अन्य संघ–संस्थाका पदाधिकारी, स्थानीयको उपस्थिति रहेको थियो । नं. १३ गण पर्साको गणपति रहेका थपलियाको यही भदौ २ गते शनिवार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस