प्रधानमन्त्रीलाई विप्लवको चेतावनी- एमसीसी कार्यान्वयनमा गए सहकार्य तोड्छु

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १२ : ५३
प्रधानमन्त्रीलाई विप्लवको चेतावनी- एमसीसी कार्यान्वयनमा गए सहकार्य तोड्छु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चासँगको सहकार्य तोड्ने चेतावनी दिएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

एमसीसी सम्झौता आजबाट कार्यान्वयनमा आउँदैछ । आज दिउँसो ३ बजे सरकारले एमसीसी कार्यान्वयनका लागि सम्झौता आदानप्रदान गर्ने तयारी रहेको छ । आजदेखि एमसीसीको ५ वर्षे कार्यकाल सुरु हुने छ ।

विप्लवले आज (बुधबार) विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमसीसी कार्यान्वयनको सन्दर्भमा संसद्बाट जारी भएको १२ बुँदे व्याख्यात्मक टिप्पणीका बारेमा अमेरिकाले लिखित जवाफ नपठाएसम्म कार्यान्वयनमा जान नसकिने बताए ।

एमसीसी कार्यान्वयनको पक्षमा सरकार उभिए समाजवादी मोर्चासँगको सहकार्य तोड्ने विप्लवको चेतावनी छ । विप्लवकै कारण समाजवादी मोर्चाको आज हुने भनिएको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित भएको छ ।

विप्लवले प्रधानमन्त्री प्रचण्डसँग २ घण्टा लामो छलफल गरेका थिए । छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले अब एमसीसी रोक्न नसकिने जवाफ दिएको बताइएको छ ।