सिरहामा कम्युनिष्टहरुको अध्ययन केन्द्र बन्छ : योगेश भट्टराई

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १२ : ००
सिरहामा कम्युनिष्टहरुको अध्ययन केन्द्र बन्छ : योगेश भट्टराई

जनकपुरधाम । नेकपा एमालेको सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले सिरहाको सर्रे अम्वासमा कम्युनिष्टहरुको अध्ययन केन्द्र बनाइने बताएका छन् । कम्युनिस्ट आन्दोलनको ७५औँ वर्षको अवसरमा सिरहाको सर्रे अम्वासमा नेकपा एमालेले आयोजना गर्न लागेको सचिवालय बैठक सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले सर्रे अम्वासमा २०४६ साल भदौ ९–१४ भएको नेकपा मालेको चौथौँ अधिवेशन निकै महत्त्वपूर्ण भएकोले अध्ययन केन्द्रको रूपमा विकास गर्ने र देश विदेशबाट कम्युनिस्ट आन्दोलनको वारमा जानकारी लिन खोज्नेहरू आउने दाबी गरे ।

तत्कालीन नेकपा मालेको चौथो अधिवेशन सर्रे अम्वासमा बसेर महत्त्वपूर्ण नीति लिएकोले भन्दै सचिव भट्टराईले सर्रे अम्वास कम्युनिस्ट आन्दोलनको हिसाबले ऐतिहासिक स्थल भएको बताएका छन् ।

यही बैठकबाट कम्युनिस्ट र कांग्रेस मिलेर पञ्चायती व्यवस्था हटाउन सङ्घर्ष गर्ने निष्कर्षमा पुगेको, माओसेतुङको विचारभन्दा नेपाली अनुकूल बहुदलीय व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको र महासचिवमा मदन भण्डारीलाई सर्वसम्मत चयन गरेकोले सर्रे अम्वास ऐतिहासिक स्थल भएकोले सचिवालय बैठक गर्न लागेको सचिव भट्टराईले बताएका छन् । 

मदन भण्डारीले लिएको जनताको बहुदलीय जनबाद(जबज)को आधार पनि यही बैठकले तय गरेको भन्दै सचिव भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलन विकसित भएको विषयको स्थलको रूपमा सर्रे अम्वासको ऐतिहासिक महत्त्व रहेकोले कम्युनिस्ट अध्ययन केन्द्र बनाउन  विकास गरिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस