ललिता निवास जग्गा प्रकरण : सचिव राउतविरुद्ध कीर्ते कसूरमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, ११ : ५१
ललिता निवास जग्गा प्रकरण : सचिव राउतविरुद्ध कीर्ते कसूरमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो । तर, सरकारी वकिलले उनलाई पनि प्रतिवादी बनाएर सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा चलाउने निर्णय गरेको एक अधिकारीले बताए ।

ललिता निवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो । तर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा भएका थिए ।

शाखा अधिकृत छँदा ललिता निवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने एउटा फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले राउतलाई अनुसन्धानमा तानेको थियो । मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस