चीनको जोड– कोरियाली प्रायद्वीपको समस्या समाधान गर्नुपर्छ

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १५ : ४७
चीनको जोड– कोरियाली प्रायद्वीपको समस्या समाधान गर्नुपर्छ

काठमाडौं। चीनले कोरियाली प्रायद्वीप समस्या समाधानमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ श्वाङले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले उक्त कुरामा जोड दिएका छन् ।

 

कोरियाली प्रायद्वीप समस्या समाधान प्रमुख राष्ट्रहरूबीचको सुदृढ सम्बन्ध र स्थिर क्षेत्रीय वातावरणमा निर्भर रहेको बताउँदै चिनियाँ कूटनीतिज्ञले ती देशले नै उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए । प्रायद्वीपको विषयलाई लिएर प्रमुख क्षेत्रीय देशले सामान्यतया स्थिर र सहयोगी सम्बन्ध राखेमा कूटनीतिक प्रयास प्रभावकारी हुन सक्ने उनले बताए । 

 

उपप्रमुख गेङले हालैका वर्षहरूमा केही देशले प्रायद्वीपको मुद्दालाई जानाजानी तनाव सृर्जना गर्ने, हिन्द–प्रशान्त रणनीतिमा प्रायद्वीपलाई समावेश गर्ने, गठबन्धन र साझेदारीलाई बलियो बनाउन र यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाउने प्रयास भइरहेको यथार्थ सुनाए ।

शीतयुद्धको मानसिकतायुक्त त्यस्ता अभ्यासले  टकराव बढाउने र दलहरूबीचको आपसी विश्वासलाई कमजोर पार्ने उल्लेख गर्दै उनले आफ्नै भूराजनीतिक स्वार्थ पूरा गर्नेबाहेक प्रायद्वीपमा शान्ति र स्थायित्व कायम नहुने बताए । ‘पछिल्ला गतिविधिबाट निःशस्त्रीकरणलाई अगाडि बढाउने लक्ष्यमा तुषारापात भएको छ,’ अमेरिका, जापान र दक्षिण कोरियाको नाम उल्लेख नगरी उनले भने ।

वार्ताको माध्यमबाटै प्रायद्वीपलाई समस्याबाट मुक्त गर्न सकिने विचार व्यक्त गर्दै उनले त्यहाँ तनाव कम गर्न र राजनीतिक समाधानलाई बढावा दिन सुरक्षा परिषद्ले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।कोरियाली प्रायद्वीपका समस्या समाधानका निम्ति चीन, रुस र अन्य देशले प्रस्तुत गरेका उचित प्रस्तावलाई केही देशले बेवास्ता गरेका तथा प्रतिबन्ध र दबाबबाटै निकास निष्कन्छ भन्ने लघु सोचप्रति उनले दुःख व्यक्त गरे ।