पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १९ : २२
पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने

काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने भएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् । 

बागमती प्रदेश क्रिकेट संघको निर्वाचन भदौ १५ गते हुँदैछ । बागमती प्रदेश क्रिकेट संघको सदस्यका रुपमा मान्यताप्राप्त काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । 

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला संघका प्रतिनिधिहरुले बागमती प्रदेश क्रिकेट संघको निर्वाचनमा पारसलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । पारस काठमाडौँ जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्य हुन् ।

पारसलाई बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा अगाडि बढाउन आफूहरु सहमत रहेको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताए । काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पनि पारसलाई अध्यक्षमा जिताउन सबैको साथ र सहयोग रहने विश्वास ब्यक्त गरे । 

घलेले बागमती प्रदेशका अन्य जिल्लालाई पनि पारसलाई सहयोग गर्न आग्रह गरे । चितवन र नुवाकोट जिल्ला पनि बागमती प्रदेश क्रिकेट संघका सदस्य हुन् । यी दुई जिल्लाका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस