बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ । आज अमूक्ताभरण सप्तमीका दिन व्रतालु महिला एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको दोगडाकेदार गाउँपालिका– ६ सित्तडकी कमला भण्डारीले बताइन् ।
गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ । व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबोधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा व्रतालु महिलाले कुण्ड स्नान गर्ने चलन रहिआएको छ । आजको गौरादेवीमा चढाएको दुबोधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठाबालीका दिन व्रतालु महिलाले धारण गर्ने गर्दछन् । गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाले राति मिठोमसिनो खाना खाने चलन छ ।
गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ । तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।
यस वर्ष तिथिका विषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । कुनै ठाउँमा यही भदौ ४ गतेदेखि गौरा सुरु भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ भदौ २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण