किङ कोब्राको ‘डीएनए’ परीक्षण किन ?

पत्रपत्रिकाबाट

मंगलबार, २९ साउन २०७५, ०७ : २५
किङ कोब्राको ‘डीएनए’ परीक्षण किन ?


सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ । वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो ।

फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता÷भिन्नता बुझ्न र अन्य वस्तुस्थिति पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिमा ‘स्नेक कन्जरभेसन सोसाइटी नेपालले चासो बढाएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कोब्राको डीएनए परीक्षण गरिएको हो । यस्तो अध्ययन मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।

त्यहाँको प्रारम्भिक अध्ययन÷अनुसन्धानले नेपालको तराई र मध्य पहाडी भेगका किङ कोब्राको जिनमा समानता पाइएको छ । ‘पोखरा उपत्यका र पूर्वी तराईका किङ कोब्राको जिनमा पूर्ण समानता पाइएको छ’, सोसाइटीका अध्यक्ष महेन्द्र कतिलाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अध्ययनको विस्तृत रिपोर्ट केही दिनमा आउँदै छ ।’ उहाँलाई सघाइरहनुभएको छ नर्वेबाट ‘एप्लाइड इकोलोजी’ विषयमा एमफिल अध्ययन गर्नुभएका पूर्ण आलेले ।

नेपालको प्रारम्भिक अध्ययन र विगतका अन्तर्राष्ट्रिय रिपोर्ट तुलना गर्दा थाइल्यान्ड र नेपालका कोब्राको जिन ९८ प्रतिशत समानता पाइएको आलेले बताउनुभयो । ‘जीवजन्तुको डीएनए परीक्षणका क्रममा कानुनी अन्य प्रक्रिया पूरा गर्दा धेरै समय लाग्छ, सर्पको जिन र अन्य पक्षको सूक्ष्म अध्ययनले झनै लामो अवधि लिन्छ’ –उहाँले भन्नुभयो । विधि विज्ञान प्रयोगशालामा गत वर्षदेखि जीवजन्तुको पनि डीएनए परीक्षण शुरु भएपछि सोसाइटीले कोब्राको विस्तृत पक्ष केलाउन चासो लिएको हो ।

सो प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत एवं डीएनए विज्ञ दिनेश झाका अनुसार कोब्राको काँचुली र कत्लासहितको छाला परीक्षण गर्दा जिनमा समानता पाइएको छ । काँचुली पूर्वी तराई र कत्लासहितको छाला मध्य पहाडी भेगको हो । नेपालका कोब्रा अन्य मुलुकका भन्दा केही पृथक् रहने सक्ने प्रारम्भिक अध्ययन रिपोर्टले देखाएको झाले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ८० भन्दा बढी प्रजातिका सर्प अभिलेख गरिएको छ, अन्य प्रजातिमध्ये कोब्रा पृथक् स्वभावको हुन्छ । पन्छीले झैं झारपात संकलन गरेर भुइँमा गुँड बनाएर बस्छ भने गुँडमै अण्डा कोरल्ने गर्छ । अन्य प्रजातिका सर्पभन्दा लामो र धेरै अण्डा पार्ने भएकाले विज्ञहरु यो प्रजाति अध्ययनबारे चासो लिन्छन् । बेलायतको चिडियाखानामा १८ फिट र नेपालमा १४ फिटसम्मको कोब्रा अभिलेख भएको छ ।

विषालु सर्प, अन्य सरिसृप, मुसा यसका मुख्य आहरा भएकाले पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न यो सर्पको भूमिका महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् । तराईका अतिरिक्त नेपालको ३ हजार मिटरका हाराहारीको भू–भागमा पनि किङ कोब्राको चहल–पहल पाइएको सर्पविद् प्राध्यापक करणबहादुर शाहले जानकारी दिनुभयो । एसियाका अधिकांश मुलुकमा किङ कोब्रा अभिलेख भएको र एसियाली क्षेत्रका कोब्रा एउटै प्रजातिका रहेका उहाँले बताउनुभयो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस