मनकामनामा थपिए तीन वटा गोण्डोला

यसपालि दसैंमा दैनिक दस हजारले चढ्नेछन् मनकामना केबुलकार

सूर्यप्रकाश कँडेल

आइतबार, २७ साउन २०७५, १८ : १७
यसपालि दसैंमा दैनिक दस हजारले चढ्नेछन् मनकामना केबुलकार

चितवन । मनकामना दर्शन प्रा.लि.द्वारा संचालित नेपालको पहिलो केबुलकार मनकामना केबुलकारमा तीन वटा गोण्डोला अर्थात् ‘कार’ थपिएका छन् । तारको लठ्ठा (केबुल) मा झुण्डिने कारजस्तो डब्बालाई अंग्रेजीमा गोण्डोला भनिन्छ ।

यसअघि ३१ वटा गोण्डोलाबाट यात्रुलाई सेवा दिइँदै आएको जानकारी दिँदै मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले आउँदो घटस्थापनादेखि मनकामना केबुलकारले ३४ वटा गोण्डोलाबाट सेवा दिने जानकारी दिनुभयो । ‘अष्ट्रेलियाबाट तीन वटा गोण्डोला कुरिनटार आइपुगेका छन्’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘अब गोण्डोलालाई एसेम्बल (फिटिङ) गरेर परीक्षणपश्चात सञ्चालनमा ल्याउँछौं ।’

मनकामना दर्शन प्रा.लि.का प्रबन्धक डीएन कायस्थका अनुसार कुरिनटारबाट औसतमा दैनिक तीन हजार यात्रुले केबुलकारको यात्रा गर्छन् । दसैं र अन्य चाडपर्वका दिन अत्याधिक भीड हुँदा दैनिक नौ हजार जनाले एक दिनमा यात्रा गर्दै आएकोमा अब तीन वटा गोण्डोला थपिएपछि भीडभाड भएको दिन एक हजार जनासम्मले थप सेवा प्राप्त गर्ने मनकामना दर्शन प्रा. लि. ले जनाएको छ । अब भीडभाडको दिन यात्रुले धेरैबेर कुर्न नपर्ने प्रबन्धक कायस्थले बताउनु भयो ।



चितवनको कुरिनटारबाट दस मिनेटमा गोरखाको मनकामना मन्दिरसम्म पुग्ने गरी २०५५ सालमा स्थापना भएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो । गतवर्षदेखि काठमाडौंको चन्द्रागिरीमा अर्को केबुलकार सञ्चालनमा आएको छ । कास्कीको सराङकोटमा पनि केबुलकार निर्माणाधीन अवस्थामा छ ।

 

प्रतिक्रिया दिनुहोस