प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

रासस

बुधबार, २४ साउन २०८०, १२ : १९
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसदका अन्तरगतका आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै अवरोध गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो।

बैठकमा जवाफ दिँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेकाले छानबिन समिति आवश्यक नभएको बताएका थिए। गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले सांसदहरूले सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान राखेपछि बैठक स्थगित भएको थियो।

विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा सरकारका मन्त्री एवं सत्तापक्षकै नेताहरूको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।

आजको प्रतिनिधिसभा बैठक सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने छन्। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा रहेका छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका व्यक्तिहरु हाल पूर्पक्षका लागि थुनामा छन्।

यसैगरी आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

यसैगरी कानून,न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङ्गले नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

 

प्रतिक्रिया दिनुहोस