दसौँ शतक बनाएपछि पाकिस्तानी कप्तानले भने, ‘यो एसिया कपको तयारी हो’

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, ११ : ४७
दसौँ शतक बनाएपछि पाकिस्तानी कप्तानले भने, ‘यो एसिया कपको तयारी हो’

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले टीट्वान्टी क्रिकेटमा दसौँ शतक प्रहार गरेपछि आफ्ना लागि यो आगामी एसिया कप प्रतियोगिताको पूर्वतयारी भएको बताएका छन् । ‘यो प्रदर्शनले आगामी एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न मनोबल उच्च बनाएको छ,’ उनले भनेका छन् ।

 

लंका प्रिमियर लिग (एलपीएल) मा सोमबार पाकिस्तानी कप्तान बाबर आजमले एक सय चार रन बनाएका थिए । उक्त खेलमा बाबर आजमको शतकको मद्दतले कोलम्बो स्ट्राइकर्सले गाले टाइटन्सलाई सात विकेटले पराजित गरेको थियो ।  

उनले टीट्वान्टी क्रिकेटमा बनाएको यो दसौँ शतक हो । २९औं वर्ष प्रवेशको तयारीमा रहेका बाबर आजमले केवल ५९ बलको सामना गरी पाँच छक्का र आठ चौका पनि प्रहार गरेका थिए । उनी टीट्वान्टी क्रिकेटमा १० वा त्योभन्दा बढी शतक प्रहार गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् ।

बाबर आजमले टीट्वान्टी क्रिकेटमा बनाएको एकल उच्च स्कोर एक सय २२ हो । टीट्वान्टी क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी भने वेस्ट इन्डिजका क्रिस गेल हुन् । उनले टीट्वान्टी क्रिकेटमा २२ वटा शतक प्रहार गरेका छन् । 

क्यारेबियन खेलाडी गेलले टीट्वान्टी क्रिकेटमा बनाएको सर्वाधिक उच्च स्कोर अविजित एक सय ७५ रन हो । उनले सन् २०१३ मा खेलिएको इन्डियन प्रिमियर लिग क्रिकेटको पुणे वारियर्सविरुद्घको खेलमा उक्त रन बनाएका थिए । 

बाबर आजम हाल आईसीसी टीट्वान्टी ब्याट्सम्यान वरीयताको तेस्रो स्थानमा छन् । डेभिड वार्नर, एरोन फिन्च, माइकल क्लिगनर र विराट कोहलीले हालसम्म टीट्वान्टी क्रिकेटमा आठ—आठवटा शतक बनाएका छन् । 

लंका प्रिमियर लिगले आगामी एसिया कपको तयारमा आफूलाई महत्वपूणर् योगदान पुर्‍याएको बाबर आजम बताउँछन् । ‘संयोगले एसिया कपजस्तो महत्वपूणर् प्रतियोगिताअघि मैले लंका प्रिमियर लिग खेल्ने अवसर पाएँ । यो प्रतियोगिताले एसिया कपको तयारीमा मलाई निकै ठूलो योगदान पुर्‍याएको छ,’ उनले भनेका छन् ।