तनहुँमा २९ करोडको सुन्तला उत्पादन

रासस

शनिबार, २० साउन २०८०, १३ : २९
तनहुँमा २९ करोडको सुन्तला उत्पादन

काठमाडौँ । तनहुँमा एक वर्षको अवधिमा रु.२९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर कृषकले रु २९ करोड आम्दानी गरेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । उक्त आवमा एक हजार छ सय दश हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । 

आव २०७८/७९ मा नौ हजार पाँच सय दश मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यस वर्ष एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको थियो । त्यस्तै आव २०७७/७८ मा रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यस वर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । 

तिवारीले भने, “प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।” जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । उनले भने, “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।”

तिवारीका अनुसार देवघाट गाउँपालिका-२ र ३, आँबुखैरेनी गाउँपालिका-५, म्याग्दे गाउँपालिका-४, व्यास नगरपालिका-७, १३ र १४, भिमाद नगरपालिका-८ र ९, बन्दीपुर गाउँपालिका-३, ऋषिङ गाउँपालिका-३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, अभिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउछन् । 

ज्ञान केन्द्रले चालु आव २०८/८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले कृषकलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । केन्द्र प्रमुख तिवारीले भने, “भानु नगरपालिकाको रुपाकोटबाहेक सबै पालिकामा सुन्तला उत्पादन राम्रो भएको छ ।”

प्रतिक्रिया दिनुहोस