ट्रकमा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित १ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, ०८ : ४१
ट्रकमा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित १ जना पक्राउ

काठमाडौ । ट्रकको क्याबिनमा लुकाइछिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्वपश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका–९ बस्ने अन्दाजी ५० वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याबिनमा लुकाइछिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७६० वटा ट्रमाडोल ट्याब्लेट र १५० वटा म्याद गुज्रिएको महरिच मल्टी भिटामिन ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिइएको हो । उनी ट्रकका चालक रहेका छन् ।

ट्रकमा लोड गरी ल्याउँदै गरेको करीब १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ पेपरको बिलबिजक फेला नपरेपछि लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधिसहित आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज र बरामद लत्ताकपडा, प्रिन्टिङ पेपर र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।