सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, १४ : ३८
सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका उनले तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुंग्याउन बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार कांग्रेसले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ । उनको नाममा पार्टीभित्र करीब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताए । शाहले बुधबार नै प्रदेश सरकारलाई पूर्णता दिने तयारी समेत गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई पठाउने निर्णय गरिसकेको छ । बुधबार बसेको संसदीय दलको बैठकले समेत पुरानै निर्णयलाई अनुमोदन गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

चौधरीले बुधबार साँझ ७ बजे मन्त्रीहरुको हपथ हुने बताएपनि मुख्यमन्त्रीको सचिवालयले भने कांग्रेस संसदीय दलको बैठकपछि सरकार विस्तारबारे थाहा हुने जनाएको छ । मुुख्यमन्त्रीले खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरे सुदूरपश्चिम सरकारले पूर्णता पाउनेछ ।

एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि गत २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

शाहले २७ माघमा कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका थिए ।

त्यसपछि ६ जेठमा माओवादीका झपटबहादुर साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र माओवादीकी गीतादेवी माललाई उद्योग राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।