बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, ०९ : ४७
बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

काठमाडौ । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।

सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन भासिने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैँ जोखिममा पर्ने गरेका छन् । बाह्र वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । छयात्तर किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ ।

कालोपत्रे गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन–चारपटक सडक अवरुद्ध हुन्छ । घन्टौँसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ ।

सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिरोको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए । “जीर्ण र पहिरोको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ”, उनले भने, “सामान्य अवस्था भए बेनीबाट चार घन्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।”

म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए । “यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ”, उनले भने । विसं २०७४ असारमा चारवटा प्याकेज (भाग)मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले रु दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए ।

गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।