भरतपुर महानगर विशेष

दुई सातामै फेरियो भरतपुर र नारायणगढ बजार क्षेत्रको मुहार

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०७५, १८ : ०४
दुई सातामै फेरियो  भरतपुर र नारायणगढ बजार क्षेत्रको मुहार

चितवन । भरतपुर महानगरपालिकाले राजमार्ग, बाइपास राेड र नारायणगढ मुग्लिन सडक खण्डमा इरिक्सा, अटो र ट्याम्पोलाई रोक लगाएको दुई सातामै भरतपुर र नारायणगढ बजार क्षेत्र धेरै खुल्ला देखिएको छ । महानगरले जेठ १५ गतेदेखि भरतपुर र नारायणगढबजार क्षेत्रमा फुटपाथ व्यपार गर्न रोक लगाएपछि भरतपुर र नारायणगढ बजार क्षेत्रको मुहार फेरिएको हो ।

भरतपुर र नारायणगढ बजार  क्षेत्रमा ५ सय मिटर दायाँबायाँ ठेला तथा फुटपाथ पसल राख्न पाइँदैन । यसले सार्वसाधारणलाई सडक पेटीमा हिँड्न निकै सहज बनेको छ । बालकुमारी कन्या माविको आडमा रहेको ६ कठ्ठामा सटर निर्माण गरी १ सय ७० फुटपाथ व्यवसायीलाई व्यवस्थापन गरेको छ । यसअघि पटकपटक फुटपाथ हटाउने भनिएपछि महानगर असफल बनेको थियो । निर्वाचित जनप्रतिनिधिले विगत एक बर्षको अवधिका गरेको देखिने काम भनेकै फुटपाथ हटाउने र तीन प्रांग्रे सवारीलाई राजमार्गमा गुड्न रोक लगाउने हो ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिकाले सडक छेउमा पार्किङ निषेध गरेर बजारका तीन ठाउँमा सवारी पार्किङ स्थल निर्माण गरेको छ । ट्राफिकले सवारी आवागनमलाई सहज बनाउन र ट्राफिक प्रहरीको पनि सहजताका लागि अहिले विभिन्न स्थानमा महानगरको सहकार्यमा आकर्षक ट्राफिक पोष्ट निर्माण गरिएको छ ।

बसपार्क चोक, हाकिमचोक, चौंबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, शहिदचोक, पुल्चोकमा गरी १२ वटा ट्राफिक अाइल्याण्ड निर्माण गरिएको छ । यसले बजारलाई थप व्यवस्थित बनाएको छ । बजार क्षेत्रमा बर्षोदेखि नबलेका सडक बत्तीहरुलाई बाल्ने काम गरिएको छ । लामो र छोटो दुरीका सवारीलाई बजार क्षेत्रमा मानिस चढाउने र झार्ने निश्चित ठाउँ तोकिएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनप्रतिनिधि आएपछि शहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियान सुरु गरिएको बताउनु भयाे । पार्किङसँगै ढल व्यवस्थित गर्ने, सडक फराकिलो पार्ने, रातको समयमा सबै ठाउँमा सडक बत्ती राख्ने र रुख विरुवा लगाएर हरियाली बनाउने उहाँले जानकारी दिनुभयो ।

नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल बाहेक अन्यत्र पार्किङ गर्न निषेध गरिएको छ । बजार क्षेत्रमा अटो रिक्सा र ट्याम्पो हटाएपछि ट्राफिक व्यवस्थापनमा निकै नै सहजता आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताउनु भयाे । फुटपाथमा पैदल यात्रुको अधिकार बल्ल स्थापित भएको ट्राफिक प्रमुख गौतमको भनाइ छ ।

लायन्स चोकको फलफूल तथा तरकारी बजारलाई क्षेत्रपुरमा स्थानान्तरण गर्ने काम भइरहेको छ । बजार क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाएसँगै ठूलो संख्यामा चारपांग्रे भित्रिन नदिन सरोकारवाला संस्थामा पत्राचार गरेको छ । महानगरले बैंक, वित्तीय संस्था, ठूला कम्प्लेक्सलाई पत्राचार गरेर आ-आफ्नो पार्किङको व्यवस्थापन गर्न आग्रह गरेको छ । वडामा व्यवस्थित हाट बजार निर्माण भइरहेका छन् । भरतपुर महानगरपालिका क्षेत्रमा ८ वटा स्थानमा हाट बजार लाग्छ । 

तीन बर्षदेखि इरिक्सा चलाउँदै आउनु भएका भरतपुर ४, त्रिचोकका हिमाल काफ्लेले राजमार्गमा गुडाउन नपाउँदा आम्दानी घटेको बताउनु भयाे । यसअघि दैनिक एक हजार रुपैयाँ आम्दानी हुने गरेकोमा अहिले ५ सय रुपैयाँमात्र कमाइ हुने गरेको बताउँदै काफ्ले भन्नुहुन्छ, ‘आफ्नो सवारी साधन हुनेहरु खुसी भएका छन्, नहुनेहरु दुःखी भएका छन् ।’ सडक र फुटपाथमा हिड्नेहरुले भने फुटपाथ र तीनपांग्रे हटेकोमा खुसी लागेको बताएका छन् । गै‌डाकोटकी शर्मिला महतोले पहिलाको नारायणगढ बजार र अहिलेको बजारमा धेरैं फरक पाएको बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस