कविता : माया वास्तवमा चीजै यस्तो रहेछ

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०७५, १८ : ०६
कविता : माया वास्तवमा चीजै यस्तो रहेछ

-बसन्त चौधरी

सावन
एकान्तमा
एकतमास पर्दैछ पानी
सिमसिम सिमसिम ।
आकाशसँग धरती स्पर्शित भइदिंदा
लाग्यो म तिमीसँग एकाकार छु !

धरतीको रिमझिमतामा
आज आकाश घुलमिल भएजस्तै लाग्छ
आश्चर्य !
धरतीमा जत्ति खनिन्छ आकाश
उत्ति नै आकाशमा खुल्दो रहेछ आकाश !
यो सिमसिमे पानीको मधुरो वर्षणमा
गहिरो मायाको परिभाषा पढ्दैछु म !

माया गर्नु,
चौबन्दी चोलो दिनु हैन
दिनु, त्यो दिनु,
अझ यस्तो दिनु हो
जुनीभर तिर्दै गरे पनि चुक्त्ता नहुने
ऋण लिनु सरह नै होस्
मैले आजै जानें —
त्यो माया हैन रहेछ
माया भनेर जत्ति गर्यौं !
माया वास्तवमा चीजै यस्तो रहेछ
जुन गरिंदैन ।
जब प्रेम बुझें, तब मैले
पानीको सिमसिममा
सुनौलो रिमझिम देख्न थालें !

प्रतिक्रिया दिनुहोस