नेपाल आयल निगमको विवादित जग्गा प्रयोगमा नल्याउन सरकारलाई अख्तियारको निर्देशन

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०७५, १६ : ४७
नेपाल आयल निगमको विवादित जग्गा प्रयोगमा नल्याउन सरकारलाई अख्तियारको  निर्देशन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको विवादित जग्गा प्रयोगमा नल्याउन सरकारलाई निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको विवादित जग्गा तत्काल प्रयोगमा नल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सचेत गराएको जानकारी दिनुभएको हो । देशका विभिन्न भागमा भण्डारण केन्द्र स्थापनाका लागि निगमले खरिद गरेको जग्गा भ्रष्टाचारमा मुछिएपछि सोसम्बन्धी मुद्दा  अख्तियारमा विचाराधीन अवस्थामा छ ।
संघीय संसद उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहिबारको बैठकमा मन्त्री यादवले अख्तियारमा विचाराधिन ती सबै जग्गा सरकारले तत्काल प्रयोग गर्न नपाउने जानकारी अख्तियारबाट आएको स्पष्ट पार्नु भयो । उहाँले निगमको सो विवादित जग्गामा सरकारको पैसा परेकाले प्रयोगमा ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अख्तियारसँग कुरा गर्ने योजना अघि सार्नु भयो । उहाँले उद्योगधन्दा स्थापनाका लागि खरिद गरिएका सरकारी जग्गा कसैलाई पनि भोगचलन गर्न नदिने दावी गर्नु भयो । मन्त्री यादवले बालाजु औद्योगिक क्षेत्रमा उद्योग स्थानान्तरण गर्ने विषयमा सरकारले विस्तृत अध्ययन गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो । बैठकमा समितिका सदस्यहरुले आयात प्रतिस्थापनका लागि निर्यात्जन्य बस्तुको उत्पादन र बजारीकरणमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो । समितिका सदस्य सोमनाथ पाण्डेले कफी, चियाजस्ता बस्तुहरुको निर्यातमा जोड दिन सरकारलाई आग्रह गर्नु भयो । समितिका अर्का सदस्य भिमसेनदास प्रधानले नेपालमा थुप्रै खानीहरु रहेको उल्लेख गर्दै त्यसलाई उद्योगको रुपमा विकास गर्न वैदेशिक लगानी भित्रयाउन ढिलाई नगर्न सरकारलाई सुझाव दिनु भयो । उहाँले मुलुकको समृद्धिका लागि यथेष्ट सम्भावना रहेको खानीहरुको उत्खनन् गर्न ढिलाई भएका कारण पनि आर्थिक विकासले गति लिन नसकेकातर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
समितिका सदस्य प्रधानले औंद्योगिक क्षेत्रको विकास गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा पनि राख्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस