प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १४ : १७
प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ । पूर्ववत् गीति भिडियोमा झैं यसपालि पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् । र, उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् ।

‘दमाई महाराज’मा प्रकाशले जातीय छुवाछूत र विभेदविरुद्धको विषयवस्तु उठाएका छन् । दमाईको गर्भमा जन्मिएको एउटा अबोध बालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् । जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् ।

हरेक पटक पृथक शैली पस्किने प्रकाशको गीत यसपालि भजन शैलीमा छ । गीत प्रकाश स्वयंले रचेका हुन् । संगीत पनि उनकै हो । आवाजमा प्रकाशलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । सुदीप सागरले संगीत संयोजन गरेका छन् ।

धार्मिक सप्ताहको पृष्ठभूमि बनाएर प्रकाशले गीतको म्युजिक भिडियो बनाएका छन् । ‘दमाई महाराज’को म्युजिक भिडियोको कथा र निर्देशन प्रकाश सपूतले गरेका हुन् । भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ । भिडियोलाई मिलनकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् । यो गीति भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस