सिनामंगलमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि , एकजना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, १२ : ३४
सिनामंगलमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि , एकजना पक्राउ

काठमाडौं । सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ ।

यसैबीच उक्त घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएका छन् । उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । ’

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए ।

प्रतिक्रिया दिनुहोस