राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, ११ : १९
राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं। नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ।संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा छन्।

२६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ। उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन्।गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको थियो।

शनिबार गरिएको उक्त निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो। नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ।मानबहादुरले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको र जिम्मेवारी थपिएको महसुस गरेको बताए।

नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेल्न लागेको हो। सन् २०१८ मा इन्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य थिए।सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन्। उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य थिए।

त्यसबेला नेपालले माल्दिभ्समा सम्पन्न प्रतियोगितामा कास्य पदक जितेको थियो।मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए। उनले गत वर्ष बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए।​ मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान बनेका छन्।

प्रतिक्रिया दिनुहोस