महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा सुरु

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, १५ : ५०
महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा सुरु

काठमाडौं । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतवारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन ।

कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतवारदेखि रेल सञ्चालनमा आएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गरेका हुन । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । उनले जयनगर विजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए।

मन्त्री ज्वालाले रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुघार हुने विश्वास लिएको बताए। मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पु¥याउने सरकारको प्राथमिकतामा रहेको बताए । उनले निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको भन्दै निर्माणको लागि सरकार छलफलमा रहेको बताए । उहाँले सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताए ।

मन्त्री ज्वालाले ठेक्का लागेका आयोजनाहरुको निर्माण कार्य विभिन्न कारणले निमार्ण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने बताए । उनले सरकारले मधेस प्रदेशलाई प्रमुख प्राथमिकता दिएको बताए। मधेसमा मिटरव्याजी,लघुवत्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन शुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने बताए । उनले दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट विजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने बताए । उनले अब रेल्वे कम्पनी सधँ घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरि कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने बताए ।

महाप्रवन्धक झाले कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने प्रतिवद्धता जनाए । उनले त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस