आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १२ : ००
आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने

जनकपुरधाम । आउँदो आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने भएको छ । यसअघि जयनगर–जनकपुरधाम र कुर्थासम्म चल्ने रेल आइतबारदेखि एक स्टेसन अझ थप गर्दै महोत्तरीको भंगहा नगरपालिकामा पर्ने सितापुरसम्म चल्ने भएको छ ।

 

आइतबार साढे १० बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्ययतामा सितापुर स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन कुमार झाले जनाएको छ ।

 

उनका अनुसार स्टेसनको उद्घाटन गर्दै कार्यक्रममा सहभागी अतिथिहरू मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशका मन्त्रीहरू, भारतीय एम्बेसडर रेल्वेसँग सम्बन्धित व्यक्ति तथा स्थानीय पालिकामा जनप्रतिनिधिहरू रेल चढेर जनकपुरधाम आउने कार्यक्रम रहनेछ ।

त्यसको भोलिपल्ट अर्थात सोमबारदेखि दैनिक सेड्युल अनुसार सितापुरदेखि जयनगर रेल चल्ने महाप्रबन्धक झाले जनाए । यस स्टेसनमा १० जना कर्मचारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस