वीरगञ्ज महानगरले थाल्यो जथाभाबी फोहोर फ्याँक्नेलाई कारवाही, १५ लाख राजस्व सङ्कलन

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, १६ : १३
वीरगञ्ज महानगरले थाल्यो जथाभाबी फोहोर फ्याँक्नेलाई कारवाही, १५ लाख राजस्व सङ्कलन

पर्सा। वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभाबी फोहोर फ्याँक्नेसँग जरिवाना बापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ ।जथाभाबी फोहोर फ्याँक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरूत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभाबी फोहोर फ्याँक्नेबाट जरिवाना तिराउन थालेको हो ।

 

महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत रू चौध लाख ९५ हजार दुई सय पाँच राजस्व सङ्कलन भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए । 

स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभाबी फोहोर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन अभियान थालेयता नियमित राजस्व सङ्कलन गर्दै आएको उनले बताए ।

 

“घर, पसल र कार्यालयबाट निष्किने फोहोर जताततै फ्याँक्ने स्थानीयको प्रवृत्ति छ”, प्रमुख मियाँले भने, “त्यस्तो प्रवृतिलाई निरूत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान शुरु गरेका छौं ।” यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उनले जानकारी दिए ।

प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिकाले वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभिसँग विसं २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको उनको भनाइ थियो ।

“महानगर प्रमुखको योजना अनुरूप सफा र सुन्दर वीरगञ्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौं”, प्रमुख मियाँले भने, “उक्त योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला तथा सडक सरसफाइ भइरहेको छ ।” उनका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाइ साझेदार संस्था पृथी ताराले गरिरहेको छ । 

“पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो”, शाखा प्रमुख मियाँले भने, “अहिले थप एउटा/एउटा मेसिन खरिद गरी नाला सरसफाइ अभियानलाई तीव्रता दिएका छौं।” साइरण जडित ट्याक्टर फोहोरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उनको भनाइ थियो ।

विगतमा महानगरसँग डम्पीङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले चार वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहोरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस