इरानलाई झुकाउनका लागि ट्रम्पले पुनः लगाए कडा प्रतिबन्ध

एजेन्सी

मंगलबार, २२ साउन २०७५, ०८ : ५६
इरानलाई झुकाउनका लागि ट्रम्पले पुनः लगाए कडा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएपछि पुनः लगाइएको प्रतिबन्धलाई पूर्ण रुपमा लागु गर्ने बताएका छन् ।

नेपाली समयानुसार आज (मंगलबार) सवा नौ बजेदेखि इरानको अटोमोबाइल सेक्टरका साथै सुन र बहुमुल्य धातुको व्यापारमा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ ।

यसो गर्दा आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि राजी हुने र आफ्ना ‘हानिकारक’ गतिविधीलाई रोक्ने ट्रम्पको मान्यता छ ।

इरानका राष्ट्रपति हसन रुहानीले यो कदमलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिएका छन् ।

सरकारी च्यानलमा इरानी जनतालाई सम्बोधन गर्दै रुहानीले मुद्दा सुल्झाउनका लागि अमेरिकासँग तुरुन्त वार्ताको विचारलाई खारेज गर्दै भने, ‘हामी कूटनीतिक र वार्ताको पक्षमा सधैं छौं तर कुराकानीका लागि इमान्दारिताको आवश्यकता छ ।’
ट्रम्पले इरानमाथिको प्रतिबन्ध उल्लंघन गर्नेले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

सन् २०१५ मा भएको सम्झौतामा समावेश भएका रुस, चीन, ब्रिटेन, फ्रान्स र जर्मनीले अमेरिकाको यो कदममाथि ‘गहिरो अफसोस’ जनाएका छन् ।

उनीहरुले सम्झौता अनुसार इरानलाई दिएको बचन पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । इरानले यदि उसले आर्थिक लाभ पाइरहे आफूले पनि बचन पूरा गरिरहने बताएको छ ।

ट्रम्पले किन तोडेका थिए परमाणु सम्झौता ?
परमाणु सम्झौता मार्फत प्रतिबन्ध फुकुवाको बदलामा विवादित परमाणु गतिविधीलाई रोक्ने कोसिस गरिएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाका अनुसार यसले इरानलाई परमाणु हतियार बनाउन रोक्न सकिनेछ र यस सम्झौतामार्फत दुनियाँलाई सुरक्षित बनाइराख्न मद्दत गर्नेछ ।
तर ट्रम्पले भने यसलाई निकै ‘भयंकर र एकतर्फी’ सम्झौता बताउँदै यसबाट बाहिरिएका थिए ।
ट्रम्पको हस्ताक्षर भएको आदेशमा जुन प्रतिबन्धबारे बताइएको छ, ती यसप्रकार छन्ः

– इरान सरकारद्वारा अमेरिकी नेटोलाई खरिद गर्न वा राख्न रोक

–सुन वा अन्य बहुमुल्य धातुको व्यापारमा रोक
– ग्रेफाइट, एल्मुनियम, स्टिल, कोइला र औद्योगिक प्रक्रियामा प्रयोग हुने सफ्टवेयरमा रोक

– इरानको मुद्रा रियालसँग जोडिएको लेनदेनमा रोक

– इरानको सरकारलाई ऋण दिने गतिविधिमाथि रोक

– इरानको अटोमोटिव सेक्टरमा प्रतिबन्ध

पाँच नोभेम्बरदेखि इरानमाथि थप यस्ता प्रतिबन्ध लगाइने योजना छः

– ऊर्जा, ढुवानी र जहाज निर्माण क्षेत्रमाथि प्रतिबन्ध

– इरानको पेट्रोलियम सम्बन्धि लेनदेनमाथि प्रतिबन्ध

– सेन्ट्रल बैंक अफ इरानसँग विदेशी वित्त संस्थानको लेनदेनमाथि प्रतिबन्ध

ट्रम्पले भने, ‘विभिन्न अन्तर्राष्ट्रिय कम्पनीले पहिले नै इरानमा कोरोबार छोड्ने घोषणा गरिसकेकाले म खुसी छु । विभिन्न देशले इरानसँग कच्चा तेलको आयात बन्द वा कम गर्ने संकेत पनि दिएका छन् ।’

‘इरानको सत्ताले कि त आफ्नो धम्कीपूर्ण व्यवहार छोड्नुपर्छ वा आर्थिक रुपमा अलग्गिनु पर्छ, इरानलाई यसका लागि बाध्य बनाउनका लागि सबै देशले सहयोग गर्नुपर्ने मेरो धारणा छ,’ उनले भने । -बीबीसी

प्रतिक्रिया दिनुहोस