मकवानपुर । बागमती प्रदेशमा लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ । प्रदेशका १३ जिल्लामा देखिएको लम्पी स्किन रोगको सङ्क्रमणबाट ४० हजार भन्दा बढी पशु सङ्क्रमित भएका छन् ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाका अनुसार लम्पी स्किन रोगको संक्रमणबाट प्रदेशका १३ जिल्लाका ४० हजार ३७२ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक हजार २४८ गाई भैँसीको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लाका ६१७ बाच्छाबाच्छी, ३५ हजार ६७८ गाई, ३ हजार ३०९ गोरु र ७५९ भैँसीमा सङ्क्रमण पुष्टि भएको छ भने ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैँसी सङ्क्रमणका कारण मरेका छन् ।
लम्पी स्किन रोगबाट बागमती प्रदेशको १३ जिल्लामा एक हजार २४८ गाई भैँसी मरेका छन् । रोगको संक्रमणबाट सबैभन्दा बढी धादिङका गाई भैँसी प्रभावित बनेका छन् भने त्यसपछि क्रमशः मकवानपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोट प्रभावित भएका छन् । रोगको सङ्क्रमण पश्चात् पशुवस्तुमा एक्कासि ज्वरो आउने, घाउ खटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थला पर्ने जस्ता लक्षणहरू देखापर्ने गरेको मन्त्रालयले जनाएको छ ।
रोगको सङ्क्रमणबाट धादिङमा ६१७ बाच्छाबाच्छी सहित ९ हजार ५४९ गाईभैँसीमा सङ्क्रमण देखिएको छ । जसमा गाई ५ हजार २१२, गोरु ३ हजार ३०९ र भैँसी ४११ रहेका छन् । रोगको सङ्क्रमणका कारण धादिङमा ४६ बाच्छाबाच्छी, ९३ गाई, १०२ गोरु र ११ भैँसी गरी कुल २५२ पशुवस्तु मरेका छन् ।त्यस्तै चितवन ६ हजार ५३९ गाई र २६० भैँसी गरी ६ हजार ७९९ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ भने १७६ गाई मरेका छन् । मकवानपुरमा ७ हजार २८२ गाई र १३ भैँसी गरी ७ हजार २९५ गाई भैँसीमा रोगको सङ्क्रमण पुष्टि भएको छ भने २७४ गाई सङ्क्रमणका कारण मरेका छन् । नुवाकोटमा ६ हजार १ गाईमा सङ्क्रमण पुष्टि हुँदा १७८ गाई सङ्क्रमणका कारण मरेका छन् ।
त्यसैगरी रोगको सङ्क्रमणबाट सिन्धुली ३२४ गाईमा सङ्क्रमण देखिएको छ भने ९ गाई मरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार, काठमाडौँमा ९३९ गाई र ३ भैँसी गरी ९४२ गाई भैँसीमा सङ्क्रमण पुष्टि हुँदा ९० गाई र २ भैँसी गरी ९२ गाई भैँसी मरेका छन् । ललितपुरमा ५३८ गाई र ७ भैँसीमा गरी ५४५ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २१ गाईहरू रोगको सङ्क्रमणका कारण मरेका छन् । भक्तपुरमा ८३० गाईमा सङ्क्रमण देखिएको छ भने १८ गाई मरेका छन् ।
यता काभ्रेमा १२१ गाई र १० भैँसी गरी १३१ गाई भैँसीमा सङ्क्रमण देखिएको छ भने ४ वटा गाई रोगको सङ्क्रमणबाट मरेका छन् । रसुवामा २३४ गाईमा सङ्क्रमण देखिएको छ भने १५ वटा सङ्क्रमणका कारण मरेका छन् । रामेछापमा २१६ गाईमा सङ्क्रमण देखिँदा एक गाई मरेको छ । दोलखामा ३ हजार १५६ गाई र २५ भैँसी गरी ३ हजार १८१ गाईभैसीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५१ वटा गाई सङ्क्रमणका कारण मरेका छन् । सिन्धुपाल्चोकमा ४ हजार २९५ गाई र ३० भैँसी गरी ४ हजार ३२५ गाई भैँसीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १५७ गाई रोगको सङ्क्रमणका कारण मरेका छन् ।
५६ हजार बढी गाईलाई खोप लगाइयो
लम्पी स्किन रोगका कारण प्रभावित भएका जिल्लाहरूका ५६ हजार बढी पशुवस्तुमा रोग विरुद्धको खोप लगाइएको छ । मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ५६ हजार ३३३ गाईमा खोप लगाइएको छ ।सिन्धुली, रामेछाप, काभ्रे र रसुवाबाहेकका जिल्लाहरूमा खोप सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
४ जिल्लामा भने खोप सेवा सञ्चालन गरिएको छैन । मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौँका ८ हजार ७७० गाईमा खोप लगाइएको छ भने खोप लगाउने कार्य जारी रहेको छ । ललितपुरको ५ हजार ४०० गाई, भक्तपुरका ३ हजार ७५ गाई, दोलखामा २ हजार ५०० गाई र सिन्धुपाल्चोक ३ हजार ४५० गाईमा खोप लगाइएको छ। ती ४ जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहकोले खोप लगाउने कार्य निरन्तर भइरहेको छ ।धादिङमा ५ हजार ५३३ गाईमा खोप लगाइएको छ भने नुवाकोटमा ४ हजार र ८२५ गाई, चितवन ३ हजार ३८० गाई र मकवानपुरमा १९ हजार ४०० गाईमा खोप लगाइएको छ । ४ वटै जिल्लामा खोप ल गाउने कार्य सञ्चालनमा रहेको छ ।
मन्त्रालयले सङ्क्रमणको उक्त तथ्याङ्कलाई आपतकालिन अवस्थाको रूपमा व्याख्या गरेको छ । मन्त्रालयले रोगको सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रणको तयारी गर्ने तर्फ छलफल अघि बढाएको मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले जानकारी दिए ।
उनका अनुसार लम्पी स्किन रोगको सङ्क्रमण दर न्यूनीकरणका लागि मन्त्रालयबाट पहल भइरहे पनि सोचे जस्तो परिणाम प्राप्त हुन सकेको छैन । रोग नियन्त्रण भन्दा बाहिर जान नदिन मन्त्रालयले सङ्घीय सरकारसँगको छलफलमा आपत्कालीन अवस्था घोषणाका विषयमा छलफल गरिरहेको उनले बताए । प्रदेश सरकारसँग आपत्काल घोषणाको अधिकार नरहेकाले सो विषमा सङ्घीय सरकारसँग समन्वयन गरिरहेको उनको भनाई छ । आपत्काल घोषणा पश्चात् कृषकहरूले बिमा बापत पाउने सुविधा नहुने भएकाले सङ्घीय सरकारले सो विषयमा पनि अध्ययन गरिरहेको उनले बताए ।
रोग नियन्त्रणका लागि मन्त्रालयबाट सचेतनामूलक कार्यक्रम, खोप तथा प्राविधिकहरूको सहयोग कृषकहरूलाई उपलब्ध गराउँदै आएको डा. शर्माले बताए । मन्त्रालयले आगामी आर्थिक वर्षको साउनबाट कार्यविधि र निर्देशिकाहरू निर्माण गरी छिट्टै नै अभियानको रूपमा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।
अभियान मार्फत प्रदेशमा रहेका ११ लाख गाई मध्ये ४ लाख गाईलाई खोप लगाउने गरी कार्य योजना र रणनीति निर्माणको चरणमा मन्त्रालय रहेको उनको भनाई छ । सरकारसँग लम्पी स्किन रोग नियन्त्रणका लागि खोप मौज्दात नरहेको र नेपालमा सो खोप उत्पादन नहुने भएकाले खरिद गरेर अभियान सञ्चालन गरिने उनले बताए । खोप खरिदका लागि मन्त्रालयले१० करोड रुपैयाँ लागत अनुमान गरेको र सोही अनुसार सङ्क्रामक रोग नियन्त्रण कार्यक्रम अन्तर्गत बजेट सुनिश्चितता गरिएको डा. शर्माको भनाइ छ ।
लम्पी स्किन रोग भाइरसबाट सर्ने भएकाले पशुवस्तुमा सङ्क्रमण भएपछि दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आउने उनले बताए । खोपको प्रभावकारी रहेको र खोपको प्रयोगबाट रोग नियन्त्रणमा सहयोग पुग्ने भएकाले अभियान सञ्चालन गर्नु पूर्व कृषकहरूले जारबाट खोप खरिद गरेर लगाउन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति