बागमती प्रदेश

लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट

कोशीमा केदार कार्कीले गरेको विद्रोहजस्तै बागमतीमा पनि हुनसक्ने लामा पक्षको चेतावनी

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०८२, १० : ३७
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट

काठमाडौं । आफ्नै पार्टीका मुख्यमन्त्रीलाई सत्ताच्यूत गरेर मुख्यमन्त्री बनेका कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति समेत रहेका मुख्यमन्त्री इन्द्र बानियाँलाई फेरि संकट आइलागेको छ । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिनु अगाडी सभापति शेरवहादुर देउवासामु भएको सहमति बानियाँले पालना गर्नुपर्ने शर्त तेस्र्याएका छन् । लामाले आफुपक्षका तीन नेतालाई मन्त्री बनाउने सहमति बानियाँले उल्लंघन गरेकोले उनलाई विश्वासको मत दिनु अगाडी सहमति कार्यान्वयन गर्नुपर्ने दवाव बढाएका छन् । बानियाँले मंगलबार विश्वासको मत लिने योजना बनाएक छन् । त्यसका लागि शनिबार कांग्रेस प्रदेश संसदीय दलको बैठकले आफना सांसदहरुलाई बानियाँको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

सत्ता सहयात्री एमालेले पनि आफना सांसदलाई ह्वीप लगाएको छ । सत्तामा रहेका कांग्रेस र एमालेले ह्वीप अनुसार बानियाँलाई विश्वासको मत दिएमा सरकार टिक्नेछ । यी दुई पार्टीका सांसदको संख्या ६४ छ । सरकार टिकाउन बहुमतका लागि बानियाँलाई प्रदेश सभाका ५६ सांसदको समर्थन आवश्यक छ । कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । विपक्षमा रहेको माओवादी केन्द्रको २१, राष्टिय प्रजातन्त्र पार्टीको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाल पार्टीको २ सांसद छन् । तर कांग्रेसभित्रको आन्तरिक किचलोले मुख्यमन्त्री बानियाँ अप््ठ्यारोमा परेका छन् । बहादुरसिंह लामा पक्षले आज दिउँसो आफु पक्षका सांसदहरुको बैठक बोलाएको छ । सहमति पालना नगरेसम्म बरु सभापति देउवालाई गएर सामुहिक राजीनामा बुझाउने तर ह्वीप नमान्ने अडानमा लामा पक्ष रहेको छ । लामासँग बागमनी कांग्रेसमा १४ सांसद छन् । कथंकदाचित लामा पक्षले बानियाँलाई विश्वासको मत दिएन भने उनीसँग बहुमत हुनेछैन । लामा पक्ष समेटिएन भने बानियाँसँग आफु पक्षका कांग्रेसका २३ र एमालेको २७ सांसद मात्र रहनेछन् । त्यसो गर्दा उनीसँग जम्मा ५० सांसदको मात्र साथ रहनेछ ।

कांग्रेसको लामा समुहले साथ नदिए बहुमतका लागि अन्य ६ सांसद बानियाँलाई पुग्ने छैन । त्यसो हुँदा बानियाँ नेतृत्वको सरकार एक सातामै ढल्ने जोखिम छ । लामा पक्ष विश्वासको मत लिनु अगाडी नै बानियाँले देउवाको रोहबरमा भएको सहमति अनुसार आफु पक्षका तीन सांसदलाई मन्त्री बनाउनु पर्ने अडानमा छ । लामाले आफु बर्हिगमनमा पर्नु अगाडी आफुले नियुक्त गरेका तीन जनालाई बानियाँले मन्त्री बनाउनु पर्ने माग गरेपछि देउवाको रोहबरमा बानियाँसँग सहमति भएको दावी गदै आएको छ । तर बानियाँले उक्त सहमति पालना नगरेको लामा पक्षले आरोप लगाउँदै आएको छ । ‘हामी आज सांसदहरुका बीचमा छलफल गरेर पार्टी सभापतिज्यूलाई भेट्न जाने तयारी छ। उहाँसँग बसेर हाम्रो रणनीति सुनाउनेछौँ। उहाँ सकारात्मक हुनुभयो र हाम्रो माग कार्यान्वयन गराउन मुख्यमन्त्रीलाई निर्देशन दिनुभयो, माग सम्बोधन भएर तीन मन्त्री नियुक्त गरियो भने बानियाँलाई विश्वासको मत दिन्छौँ। नत्र सभापतिलाई राजीनामापत्र बुझाएर फर्कन्छौँ’, लामा पक्षका सांसद गणेश लम्सालले भने ।

लामा पक्षले कोशीमा केदार कार्कीले पनि विद्रोह गरेरै मुख्यमन्त्री केही समय चलाएको उदाहरण पार्टीभित्रै रहेकोले बागमतीमा पनि नयाँ शिराबाट राजनीति अगाडी बढ्न सक्ने चेतावनी बानियाँलाई दिईरहेको छ । बानियाँ भने अहिलेसम्म लामाको मागमा सकारात्मक देखिएका छैनन । उनले देउवाको सामु भएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा मौन बसेका छन् । बानियाँलाई उनका पक्षका कांग्रेसका सांसदले लामा पक्षलाई समेटेर होइन, आफुहरुलाई सहभागी गराएर सरकार विस्तार गर्न दवाव बढाईरहेका छन् । लामा पक्षले चाल्ने रणनीतिले बानियाँको सत्ता निरन्तरता या संकटको टुंगो लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस