वीर अस्पतालमा ओपिडी सेवा अब बिहान ८ बजेदेखि

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, ०८ : ०४
वीर अस्पतालमा ओपिडी सेवा अब बिहान ८ बजेदेखि

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८  बजेदेखि उपलब्ध हुने बताएका छन् । 

सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा  आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क बनाइने पनि जानकारी दिए ।

उनले भने, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ । अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”

मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उनले यसबाट हजारौँ सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको बताए । 

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस