भानु बोखिमको ‘गोधूलि गीत’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १० : २१
भानु बोखिमको ‘गोधूलि गीत’ सार्वजनिक

काठमाडौँ । दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ सार्वजनिक भएकाे छ।

शनिबार काठमाडौँमा एक कार्यक्रमबीच कवि श्यामल, आख्यानकार नवीन विभास, कवि नरेन्द्रकुमार नगरकोटी र आख्यानकार भानु बोखिमले संयुक्त रूपमा उपन्यासकाे विमोचन गरेका हुन्।

कार्यक्रममा भानु बोखिमस‍ँग पत्रकार तथा लेखक दीपक सापकोटाले अन्तरक्रिया पनि गरेका थिए । ‘गोधूलि गीत’ युद्धको सजीव दस्तावेज भएको श्यामलले बताए।

‘सरल भाषामा माओवादी युद्ध बुझ्न यो उपन्यास पढ्नुपर्छ’, उनले भने, ‘अति सामान्य मान्छेको युद्धकालीन आख्यान हो यो, जसलाई थाहा छ व्यवस्था ठिक छैन, अत्याचार ठिक छैन, परिवर्तन चाहिन्छ। जीवन्त रुपमा युद्धको अक्षरीकरण गर्छ उपन्यासले।’

नवीन विभासले उपन्यास रोल्पाका ईश्वरी बुढामगर, धनबहादुर, कुमार, खड्गबहादुरहरूको जीवनको एक समयको भयानक कथा भएकाे बताए।

‘कसरी ईश्वरी बुढामगरहरु र ईश्वरीका बा धनबहादुरहरु विद्रोह गर्न पुग्छन्? परिवर्तनको लागि इमानदार मान्छेहरू, जो ससाना सपनाहरू बोकेर युद्धमा सामेल भए, ती कसरी तड्पिए र पिल्सिए ? तिनका जिन्दगीमाथि किताबले प्रश्न गरेको छ’, उनले भने।

युद्धका असरबीचको यात्रापछि रोल्पा र तपाईंको पात्र ईश्वरीलाई कस्तो देख्नुभयो भन्ने दीपक सापकोटाको प्रश्नमा भानु बोखिमले भने, ‘कसैलाई युद्ध मन परोस् वा नपरोस्, यसले कसैलाई लाभ होला कसैलाई क्षति, तर युद्धले सबै जनतालाई भयानक असर गरेकै हुँदोरहेछ’, उनले भने, ‘मेरा पात्रहरू भयानक संकटबाट गुज्रिए। म चाहन्छु, उनीहरूको सपना पूरा होस्।’

कलम प्रकाशनले प्रकाशन गरेको उपन्यासको मूल्य ६९५ रहेको छ।

प्रतिक्रिया दिनुहोस