भरतपुर महानगरको स्वास्थ्य नीति : शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई महानगर अस्पतालको रुपमा विकास गरिने

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १६ : ४२
भरतपुर महानगरको स्वास्थ्य नीति : शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई महानगर अस्पतालको रुपमा विकास गरिने

चितवन। भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई महानगर अस्पतालको रुपमा विकास गर्ने भएको छ । आज प्रस्तुत महानगरको नीति तथा कार्यक्रममा उक्त अस्पतालमा अल्ट्रासाउण्ड, इमर्जेन्सी सेवा सहित विशेषज्ञ चिकित्सक सेवाको शुरुवात गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नगरवासीको पहुँच सुनिश्चित गर्नुका साथै नवशिशु स्वास्थ्य, बाल स्वास्थ्य र पोषण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन, महामारी नियन्त्रण तथा स्वास्थ्य प्रवर्धन कार्यक्रममा विशेष जोड दिइने उल्लेख छ ।

हेर्नुहोस् भरतपुर महानगरको स्वास्थ्य नीति

१. गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नगरवासीको पहुँच सुनिश्चित गर्नुका साथै नवशिशु स्वास्थ्य, बाल स्वास्थ्य र पोषण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन, महामारी नियन्त्रण तथा स्वास्थ्य प्रवर्धन कार्यक्रममा विशेष जोड दिइनेछ ।

२. महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय र जनमुखी बनाउनुका साथै स्वास्थ्य संस्थाहरूमा सेवा सञ्चालनका लागि आवश्यकता अनुसार जनशक्तिको व्यवस्था गरिनेछ ।

३. महानगरपालिकामा कोभिड १९, भेक्टरजन्य रोग लगायतका महामारी तथा सङ्क्रामक रोगहरूको निगरानी, रोकथाम, निदान, उपचार तथा व्यवस्थापन र विपद व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक तयारी एवं समुदाय परिचालनका लागि बहुनिकाय समन्वय गरी एकीकृत कार्यक्रम सञ्चालन गरिनेछ ।

४. शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई महानगर अस्पतालको रुपमा विकास गरी अल्ट्रासाउण्ड, इमरजेन्सी सेवाको साथै विशेषज्ञ चिकित्सक सहितको सेवाको शुरुवात गरिनेछ । साथै शारदानगर स्वास्थ्य चौकीको सेवा स्तरोन्नति गर्नका लागि संघीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

५. बालबालिका, महिला, ज्येष्ठ नागरिक लगायत लक्षित समूहका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ । ४० वर्ष माथिका सबै महिलाको पाठेघरको स्वास्थ्य जाँचका साथै पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिनेछ ।

६. “समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम“ शुरुवात गरी लक्षित वर्ग, असहाय, अति विपन्न, जेष्ठ नागरिक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यकता अनुसार समुदायका घर टोलमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिनेछ । साथै असहाय, विपन्न परिवारको पहिचान गरी महानगरपालिकाले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइनेछ ।

७. महानगर भित्रका सरकारी, निजी अस्पताल, मेडिकल कलेज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँगको सहकार्यमा विभिन्न वडा र विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
८. भरतपुर महानगर पूर्णखोप घोषणा भइसकेको अवस्थामा बालबालिकाहरूलाई दिइने सबै खोप कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै पूर्णखोप सुनिश्चितताको दिगोपनाका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।

९. “हाम्रा बालबालिका, हाम्रो भविष्य” भन्ने नाराका साथ आमाको गर्भदेखि विद्यालयसम्म पोषणमा विशेष जोड दिई पोषण कार्यक्रम सञ्चालन गर्नुका साथै महानगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी परिचालन गरी सबै सामुदायिक विद्यालयमा महिनामा एक पटक स्वास्थ्य परामर्श कक्षा र वर्षमा दुई पटक निःशुल्क रूपमा दाँत तथा आँखा लगायत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने छ ।

१०. रगतको अभाव र मागलाई सम्बोधन गर्न बृहत रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्नुको साथै रक्तदान कार्यक्रम गर्ने संघसंस्था तथा रक्तदातालाई सम्मान सहित प्रोत्साहन गरिनेछ ।

११. महानगरपालिका भित्र सञ्चालनमा रहेका मेडिकल कलेज, निजी अस्पताल, पोलि क्लिनिक, डायग्नोस्टिक केन्द्र, क्लिनिक, प्रयोगशाला सेवा, आयुर्वेद अस्पताल तथा क्लिनिक, औषधि पसल आदि स्वास्थ्य संस्थाहरूको अनुगमन तथा नियमन गरी महानगरवासीको गुणस्तरीय स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरिनेछ । साथै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्डलाई कडाइका साथ लागु गरिनेछ ।

१२. महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवालाई सुदृढ बनाउनका लागि प्रदान गरिदैँ आएको महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन लाई निरन्तरता दिइनेछ । दीर्घसेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन रकम सहित सम्मानजनक बिदाइ गरिनेछ ।

१३. स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनुका साथै थप सुदृढीकरण गरिनेछ । वन्यजन्तुको आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म लैजानका लागि एम्बुलेन्स सेवाका लागि आवश्यक व्यवस्था गरिनेछ ।

१४. स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला सेवा सञ्चालनलाई विस्तार तथा सुदृढीकरण गरिनेछ ।गर्भवती महिलालाई आधारभूत प्रयोगशाला सेवा निःशुल्क उपलव्ध गराइनेछ ।

१५. स्वास्थ्य सेवामा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछ । स्वास्थ्य सम्बन्धी समसामयिक विषयवस्तुको जानकारीका लागि जन स्वास्थ्य बहस, अध्ययन अनुसन्धान लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१६. सूर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई मध्यनजर गर्दै सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। भरतपुर महानगरपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थाको १०० मिटर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बेचबिखन गर्न रोक लगाइनेछ ।

१७. स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई सर्वसुलभ तथा प्रभावकारी बनाउन गुणस्तरीय औषधी सामग्रीको नियमित आपूर्ति गरी उपलब्धता सुनिश्चित गरिनेछ । स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार, न्यूनतम औजार उपकरणको उपलब्धता तथा क्षमता विकासका लागि आवश्यक व्यवस्थापन गरिनेछ ।

१८. स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको प्रयोग तथा उपयोगलाई सबै स्वास्थ्य संस्थासम्म विस्तार गरिनुका साथै स्वास्थ्य सम्बन्धी क्रियाकलापहरूको अभिलेख तथा प्रतिवेदनलाई प्रविधि मैत्री बनाउन डिजिटलाइज्ड गर्दै लगिनेछ।

१९.महानगरवासी आम नागरिकलाई आफ्नो स्वास्थ्य बारे सचेत रहन सबैले आफ्नो जन्म दिनमा स्वास्थ्य जाँच गराउन प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।

२०. नमुना जडिबुटी प्रवर्धन कार्यक्रमको थालनी गरी सरकारी तथा निजी संघसंस्थाहरूसँगको सहकार्यमा एक बोटानिकल गार्डेन निर्माण कार्य अगाडि बढाइनेछ ।

२१. आयुर्वेद तथा वैकल्पिक चिकित्सा, प्राकृतिक चिकित्सा, योग आदि मार्फत उपचार, नसर्ने रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्धनका क्रियाकलाप सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिक र स्तनपायी आमाहरूको स्वास्थ्य प्रवर्धनका लागि समुदाय स्तरसम्म कार्यक्रम सञ्चालन गरिनेछ ।

२२. प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र, नगर स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक चिकित्सा पद्धतिलाई समावेश गर्दै लगिनेछ । साथै आयुर्वेद, योग, पञ्चकर्म एवं वैकल्पिक चिकित्साको विकासका साथै स्थानीय स्तरमा उपलव्ध औषधिजन्य जडिबुटी, खनिज तथा द्रव्यको पहिचान, सङ्कलन, संरक्षण र प्रवर्धन गरिनेछ ।

२३. स्वास्थ्य सेवालाई जनताको घरदैलोमा नै पु¥याउनका लागि खोप क्लिनिक, गाउँघर क्लिनिक लगायत सामुदायिक सेवालाई निरन्तरता दिदैं यसमा संलग्न जनशक्तिलाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।

२४. महानगरका सबै परिवारलाई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा आबद्ध गर्नका लागि योजना तयार गरी कार्यान्वयन गरिनेछ । स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि संघीय सरकार, प्रदेश सरकार लगायत अन्य सार्वजनिक, गैरसरकारी र निजी क्षेत्रसँग सहकार्य र समन्वय गरिनेछ ।

 

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस