कैलाश गाउँपालिकाले ल्यायो ४८ करोड ५९ लाखको बजेट

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १६ : २६
कैलाश गाउँपालिकाले ल्यायो  ४८ करोड ५९ लाखको बजेट

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेका थिए । चालू आर्थिक वर्षको लागि पालिकाले ५१ करोड १५ लाख ९८ हजारको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षको तुलनामा पालिकाले आगामी वर्षका लागि २ करोड ५६ लाख रुपैयाँ घटाएर बजेट ल्याएको हो ।

 

संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार रुपैयाँ प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरेको हो । आन्तरिक राजश्व, घरजग्गा रजिस्ट्रेसन दस्तुर, दहत्तर बहत्तर कर र अल्या गरी १ करोड ६२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

 

पालिकाले शिक्षातर्फ ९७ लाख १३ हजार रुपैयाँ, स्वास्थ्यतर्फ २३ लाख ५० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २२ लाख रुपैयाँ, युवा तथा खेलकुद विकासतर्फ २५ लाख ५० हजार रुपैयाँ, खानेपानी तथा सरसफाइतर्फ ३० लाख रुपैयाँ, भाषा तथा संस्कृति प्रवर्द्धनका लागि १५ लाख बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

यसैगरी सडक तथा झोलुङ्गे पुल निर्माण गर्न ६ करोड ७९ लाख २२ हजार रुपैयाँ, भवन तथा सहरी विकासतर्फ १ करोड १३ लाख ७० हजार रुपैयाँ, विद्युततर्फ ३० लाख रुपैयाँ, विज्ञान, सूचना तथा सञ्चार प्रविधितर्फ १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कृषि क्षेत्रको लागि ३६ लाख ४ हजार रुपैयाँ, पशुपक्षीतर्फ ३० लाख ४१ हजार रुपैयाँ, घरेलु तथा लघु उद्योग ६ लाख, पर्यटन विकास तथा प्रवर्द्धन तर्फ ३० लाख रुपैयाँ, सहकारीतर्फ २ लाख रुपैयाँ, सिचाइतर्फ १४ लाख ५० हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस