शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन: प्रदेश प्रमुख शेरचन

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १६ : ४७
शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन: प्रदेश प्रमुख शेरचन

चितवन। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् ।भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै प्रमुख शेरचनले शिक्षण संस्थामा शिक्षक र विद्यार्थीको राजनीतिक आस्था फरक फरक भए पनि राजनीतिक स्वार्थ पूरा गर्न संस्थालाई राजनीतिको थलो बनाउन नहुने बताएका हुन् ।

प्रमुख शेरचनले भने, ‘ आजको युग प्रतिस्पर्धाको युग भएकोले विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सबै शिक्षण संस्थाको ध्यान जानुपर्छ । विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके । खेती गर्ने योजना बनाइसके तर हामी भने चन्द्रमाको पूजा गरेर बसिराखेका छौं । अब उपनिवेशवादी शिक्षा नीतिलाई बदलेर प्रविधिको युगमा प्रवेश गर्नुपर्छ ।’

अध्यक्ष शेरचनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले सबैले युवा युवा भन्ने गरेको तर पुराना र नयाँ बीचको अनुभवको आदानप्रदानबाट मात्र देश सही ढंगले अगाडि बढ्न सक्ने विचार राखे । उनले भने, ‘ होश नभई जोशले मात्र युवा अगाडि बढे भने देश कता पुग्छ ठेगान हुन्न । म आफू ८१ वर्ष भए पनि युवा जोशले नै काम गरिरहेको छु । ’ उनले देशमा भ्रष्टचार बढ्दै गइरहेको विषयमा चिन्ता व्यक्त गर्दै यो देश के भएको होला भन्ने आश्चर्य व्यक्त गरे । उनले भने, ‘ म स्वास्थ्य मन्त्री भएर काम गर्दा पनि कमिसनको पोको आउने गर्दथ्यो ।

मैले त्यो पैसा उपचार कोषमा जम्मा गर्दथे । पाँच प्रतिशत कमिसन तपाइँकै हो भन्दै पैसा बोकेर आउने गर्दथे । अहिलेका स्वास्थ्य मन्त्री के गरिरहेका छन् मलाई थाहा छैन । अरबौं खरबौं बजेट हुने मन्त्रालयमा भने के हालत होला ?’कार्यक्रममा बाग्मती प्रदेश सभामा विपक्षी दलको नेता जगन्नाथ थपलियाले हिजो हामी चितवनमा क्याम्पसहरुमा विद्यार्थीको संख्या र पहुँच खोज्यौं अब अहिले पहुँच होइन गुणस्तरियता बढाउनुपर्ने बताए । उनले भने, ‘ विश्वव्यापीरुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । आजको युग सूचना प्रविधिको युग भएकोले सोही अनुसारको शिक्षा आवश्यक छ । ’

 

क्याम्पस सञ्चालक समितिको अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन शत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्राडा भीमराज अधिकारी, पूर्वप्रदेश मन्त्री घनश्याम दाहाल, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद ईश्वर सापकोटा, पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेल, भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले इतिहासको निकै कठिन दिनहरु पर गर्दै सप्तगण्डकी क्याम्पस आजको दिनमा आइपुगेको बताए । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

सोही अवसरमा सप्तगण्डकी जर्नलको पनि विमोचन गरिएको थियो । सप्तगण्डकी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलले प्रकाशन गरेको यो जर्नलमा ११ वटा अनुसन्धानमूलक लेखहरु सङ्ग्रहित गरिएको छ । सेलका प्रमुख कपिलदेव सुवेदीले जर्नले १३ औं संस्करण भएको जानकारी गराए ।

२०४५ सालमा सबै विद्यार्थीहरुले सबै खालका विषय चितवनमा पढ्ने अवसर नपाएपछि नारायणी नमुना माविको कक्षाकोठाबाट सप्तगण्डकी क्याम्पसको पढाइ सुरु भएको थियो । चन्दा उठाएर त्रिभुवन विश्वविद्यालयलाई सात लाख रुपैयाँ बुझाएपछि सप्तगण्डकीले क्याम्पस सञ्चालनको स्वीकृती पाएको थियो । अहिले २५ सय बढी विद्यार्थी पढ्ने यो क्याम्पस नेपालका १० ठूला सामुदायिक क्याम्पसहरु मध्ये सातौं नम्बरमा पर्छ । रोजगारीको खोजीमा विद्यार्थीहरु विदेशिन थालेपछि चितवनका क्याम्पसहरुले नयाँ चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस