नेपालले आज नेदरल्याण्ड्ससँग दोश्रो खेल खल्ने, पुनरागमनको आशा

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, ०९ : ४५
नेपालले आज नेदरल्याण्ड्ससँग दोश्रो खेल खल्ने, पुनरागमनको आशा

काठमाडौं । आज शुक्रबार नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल खेल्दैछ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने जित हात पार्ने दाउमा छ ।

नेपालले शुक्रबार नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ  ।

नेपाल आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा नै पराजित हुन पुग्यो । जित नजिक पुगेको नेपाल मिडिल अर्डर ब्याट्सम्यान नचल्दा हारको सिकार बनेको थियो । नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो ।

नेपालका लागि ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दै ५१ बनाएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ रनएपनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा पहिलो खेलमा हार ब्यहोरेको थियो । नेदरल्यान्ड्सलाई १८९ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस