काठमाडौँ । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत/स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थेले बिहीबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा समारोहमा सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सो अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चमा दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए ।
पश्चिम अफ्रिकामा अवस्थित क्यामरुनमा दुई सय ४० भन्दाबढी जनजाति छन् भने दुई सय ३० भाषा बोलिन्छन् । चाड, मध्य अफ्रिकी गणतन्त्र, कङ्गो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी र नाइजेरियासँग सिमाना जोडिएको यो मुलुकको दक्षिणपश्चिममा एट्लान्टिक महासागरको सिमाना रहेको छ । यो दुई करोड ७० लाख भन्दा बढी जनसंख्या भएको क्यामरुनको कूल क्षेत्रफल चार लाख ७५ हजार चार सय ४० वर्ग किलोमिटर छ ।
सन् १९६० जनवरी १ मा स्वतन्त्र भएको यो मुलुक २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो । नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम) तथा ७७ र चीन समूहको सदस्य राष्ट्र हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०८ असार २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
‘प्रचण्ड’ र नेपालबीच आज पनि भेटवार्ता
नेपाल–भारत कानुनी सहायता सम्झौतामा सहमति, सुपुर्दगी सन्धिमा मतभेद कायमै
नेपाल र कुवेतले टी-२० र ओडीआई सिरिज पालैपालो आयोजना गर्ने
भारतले नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्ने
९ वर्षपछि दिल्लीमा नेपाल र भारतका गृहसचिवहरूको बैठक बस्दैं