अनुदानमा स्याउका बिरुवा वितरण

रासस

शुक्रबार, ०८ असार २०८०, १३ : ५९
अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो ।

निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार कार्यालयले उच्च घनत्व (हाइडेन्सिटी) प्रविधिमा आधारित स्याउका बिरुवा वितरण गरिएको छ ।

कृषकलाई जोनाप्रिन्स चार हजार पाँच सय ५०, गाला चार हजार पाँच सय ३०, फुजी दुई हजार दुई सय ५०, रेड डेलिसियस एक हजार चार सय ३० र गोल्डेन डेलिसियस सात सय ८० प्रजातिका बिरुवा वितरण गरिएको प्रमुख सिलवालले बताए । इटालीबाट मनाङसम्म ल्याउँदा प्रतिबिरुवाको रु एक हजार ७९ परेकामा किसानलाई प्रतिबिरुवा रु दुई सय ६९ मा वितरण गरिएको उनले बताए ।

कार्यालयका अनुसार इटालीबाट ल्याइएका स्याउका बिरुवा कृषि फार्म, कृषक, कृषि कम्पनीलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको छ । बढी स्याउ उत्पादन हुने ङिस्याङ गाउँपालिकाका किसानलाई ११ हजार आठ सय ४०, नासों गाउँपालिकामा एक हजार पाँच सय ७० र चामे गाउँपालिकामा एक सय ३० बिरुवा वितरण गरिएको हो ।

पछिल्लो समय मनाङमा जनघतत्व प्रविधिको स्याउ खेतीमा किसानको आकर्षण बढ्दो रहेको प्रमुख सिलवालले बताए । ङिस्याङ–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले नेपालमै पहिलो पटक हाइडेन्सिटी प्रविधिका स्याउका बिरुवा ल्याएको उनले बताए । यसले गर्दा यस प्रविधिको खेतीमा किसानको आकर्षण बढ्न थालेको उनले बताए ।

मनाङमा मात्रै नभएर मुस्ताङ, जुम्ला, सोलखुम्बु, गोरखा, कालीकोट, मुगुलगायत जिल्लामा हाइडेन्सिटी प्रविधिको स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । हाइडेन्सिटी स्याउका बिरुवा विदेशबाट ल्याउँदा महँगो पर्ने र विभिन्न रोग भित्रिन सक्ने सम्भाव्यतालाई दृष्टिगत गरी नेपालमै यस प्रविधिका स्याउका बिरुवा उत्पादन गर्न सकिए किसानलाई मात्रै नभएर देशकै लागि फाइदाजनक हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस