वर्षा नहुँदा किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, ०८ : ४४
वर्षा नहुँदा किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

काठमाडौ । वैशाख अन्तिम हप्ता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन ।

लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । 

अघिल्ला वर्षहरूमा यतिबेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन शुरू गर्थे । वर्षा नहुँदा खोलानाला समेत सुकेका छन् । खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठ अन्तिम हप्तादेखि रोपाइँ गर्ने किसान यतिबेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवा समेत सुकेर मर्न थालेका हुन् । असार शुरू हुँदा समेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारी समेत सुक्न थालेको कृषकको गुनासो छ । गएका वर्षहरूमा यतिबेला ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करीब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताए ।

लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउ समेत सुकेको उनको भनाइ छ ।

क्षेत्री भन्छन्, ‘जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर वैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्‍यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या पर्‍यो, बीउ जोगाउनै गाह्रो भयो ।’

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना शुरू हुनुपूर्व नै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरू समस्यामा परेको बताए । खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझो समेत मार्न नपाएको गुनासो पोखे । पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उनको भनाइ छ ।