सिंचाई विभागका तत्कालीन महानिर्देशकविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १६ : ४५
सिंचाई विभागका तत्कालीन महानिर्देशकविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको छानबिनका क्रममा उनले साढे ३ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ । सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैया अड्चालीस पैसा वैध तरिकाले आर्जन गरेको देखिन्छ । तर उनको कुल सम्पत्ति भने सात करोड बयालीस लाख उनान्तीस हजार छयासी रुपैयाँ पैसठ्ठी पैसा देखिएपछि भ्रष्टाचार भएको ठहर अख्तियारको छ ।

उनको तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले सो बराबरको रकम विगो कायम गरी मुद्दा दायर भएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए । राजभण्डारीले पदको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती दिपा श्रेष्ठको नाममा समेत देखिएकाले हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिइएको छ ।

प्रतिक्रिया दिनुहोस