सहरी विकासमन्त्रीद्वारा फोहोर पानी प्रशोधन प्लान्टको अनुगमन

सफल खबर संवाददाता

शनिबार, ०२ असार २०८०, १३ : २७
सहरी विकासमन्त्रीद्वारा फोहोर पानी प्रशोधन प्लान्टको अनुगमन

काठमाडौँ । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गरेकी छन् । शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुगेकी मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गरेकी हुन् । सो प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका गल्ती कमजोरीहरु फेरी दोहोरिन नदिनका लागि आफूले सो प्लान्टको अनुगमन गर्नु परेको मन्त्री गुरुङले बताइन् ।

 

उनले सरकारले अन्य ७ वटा त्यस्तै खालको प्लान्टहरु पनि निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढनु उपयोगी हुने समेत स्पष्ट पारिन् । मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै बागमती नदीको पानी सफा हुन्छ भन्ने सोचाई राख्न नहुने पनि बताइन् । सो पानीलाई फोहोर बनाउने ढललगायतका अन्य वस्तुहरुको पनि उचित व्यवस्थापन गरेर मात्रै बागमती नदीलाई सफा राख्न सकिने उनको भनाई थियो । 

 

‘नेपालमा पहिलो ट्रिटमेन्ट प्लान्ट भएको कारणले गर्दाखेरी यो सम्भव छ भन्ने कुरालाई यसले प्रमाणित गरेको छ । र, यसलाई नै हामीले आधार बनाएर अरु ७ वटा निर्माणको चरणमा छ’ मन्त्री गुरुङले भने, ‘त्यो हिसावले गर्दा हामीले प्रभावकारी ढंगले अगाढि बढाउन सक्यौं भने राम्रै हुन्छ भन्ने मलाई चाहीं लागेको छ । यो जति हामीले निर्माण गर्नेछौं । पहिलो फेज, दोस्रो फेजबाट भएको गल्ती कमजोरी कहाँ भएको छ भन्ने कुरालाई सच्याउँदै हामीले नयाँ प्लान्ट बनाउनु आवश्यक छ भन्ने मैले ठानेको छु ।’ 

 

मन्त्री गुरुङलाई सो प्लान्टबारे अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारीहरुले जानकारी दिएका थिए । सरकारले काठमाडौंको बागमती नदीलाई सफा राख्नका लागि फोहोर पानी प्रदुषण प्रशोधन प्लान्टको निर्माण कार्यक्रमलाई चरणवद्ध रुपमा अघि बढाउने गरी आवश्यक नीति तथा कार्यक्रम र बजेट तय गरेको छ । 

प्रतिक्रिया दिनुहोस