तुलसीपुरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १४ : ११
तुलसीपुरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, छ यात्रु गम्भीर घाइते

दाङ। तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको  ओततर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । साथै सो दुर्घटनामा परेर छ जना यात्रु गम्भीर घाइते भएका छन् ।

मृत्यु हुने चालकमा गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी  दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जीपमा १० यात्रु सवार थिए । अन्य यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनामध्ये चारलाई बाँकेको कोहलपुर अस्पतालमा लगिएको छ । अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।आज बिहान ११ः३० बजेतिर सो जीप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै उद्धारका लागि प्रहरी र स्थानीय पुगेका थिए । गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस