नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दै

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १२ : १५
नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दै

काठमाडौं । नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ ।

आजको खेल नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ। पछिल्ला दिनमा ब्याटिङ पनि सुध्रिँदै गएको छ। यही क्रमलाई निरन्तरता दिँदै प्रदर्शन गर्‍यो भने नेपालले जित हासिल गर्न सक्छ। ऐतिहासिक खेलमै नेपाल जितको खोजीमा छ ।

हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन्। त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन्। टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन्।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन्।

प्रतिक्रिया दिनुहोस