प्रधानमन्त्री प्रचण्डसँग सांसद ठकुरीको भेट

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, ११ : २५
प्रधानमन्त्री प्रचण्डसँग सांसद ठकुरीको भेट

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सांसद ठकुरीले आइतबार बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्ड भेटेका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद ठकुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गुनासो पत्र हस्तान्तरण गरेका हुन् ।

उनले काठमाडौँ विकसित जिल्ला भए पनि काठमाडौँ–३ विकासको गतिमा पछि परेकाले सो क्षेत्रका लागि प्राथमिकताका साथ कार्यक्रमहरू ल्याउन आग्रह गरेका छन् ।काठमाडौँमा नै भए पनि आफ्नो निर्वाचन क्षेत्र विकट रहेकाले सरकारले बजेट कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्न उनले माग गरेका छन् । उनले सो क्षेत्रका नागरिकहरू विकासको अनुभूत गर्नबाट वञ्चित हुनुपरेको भन्दै सडक, खानेपानी, यातायात सुविधाको अवस्था अत्यन्त कमजोर रहेको बताए ।

सांसद ठकुरीले शिवपुरी आरक्षणको ढाँट शुल्क हटाउने सरकारसँग माग गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समेत गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१, सुन्दरी जलमा शिवपुरी आरक्षणको ढाँट रहेको कारणले त्यस क्षेत्रभित्र पर्ने ५ वटा गाउँवस्तीका जनताले दुःख भोग्नुपरेको उनको भनाई छ ।ढाँटका कारण सो क्षेत्रका नागरिकहरूले घर तथा आफन्तकोमा आवतजावत गर्न पनि पैसा तिर्नुपर्ने अवस्था रहेको उनको गुनासो पत्रमा उल्लेख छ ।

उनले निकुञ्जभित्र घर भएका स्थानीयले दैनिक जीवनयापन गर्न सो ढाँटबाट ओहोरदोहोर गर्नुपर्ने भएकोले निःशुल्क व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।उक्त ढाँटमा धार्मिक क्षेत्र सुन्दरी माई, वागद्वार जस्ता तीर्थस्थलमा जाने तीर्थयात्री भक्तजनले पनि चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकोले ढाँटमा शुल्क सङ्कलन हटाउन आवश्यक रहेको उनको भनाई छ । निकुञ्ज क्षेत्रमा सुरक्षाका लागि चेक पोस्ट राखे पनि नागरिकहरूसँग शुल्क दिन नहुने भन्दै सो समस्या समाधानका लागि पहल गरिदिन सांसद ठकुरीले आग्रह गरेका छन् ।

 

त्यस्तै सांसद ठकुरीले विशेष महत्वको रूपमा रहेको बागमती करिडोर अन्तर्गत गोकर्ण ब्यारेज–महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरी जलसम्म जाने सडक निर्माण गर्न प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरेका छन् । उनले गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ अन्तर्गत पर्ने नेपाल ट्रस्टको स्वामित्वमा रहेको गोकर्ण वनका कारण सो सडक निर्माण हुन नसकेको उनले बताए ।

उनले सो सडक अन्तर्गतको गुह्येश्वरीदेखि सुन्दरी जलसम्म १० किलोमिटरमध्ये ५ किलोमिटर करिडोर सडक खुलिसके पनि गोकर्ण वनको पर्खाल सारेर बनाउनुपर्ने १०० मिटर सडक बन्न नसक्दा बाँकी बन्नुपर्ने ५ किलोमिटर सडक बन्न नसकेको उनले बताए ।

उक्त पर्खाल सारेर बाँकी ५ किलोमिटर करिडोर विस्तार गर्न सकिए बागमती करिडोर सडक गुह्येश्वरीदेखि सुन्दरी जलसम्म जोडिने उनको भनाई छ । माकलबारीबाट गोकर्ण ब्यारेज हुँदै गोकर्णेश्वर महादेव मन्दिर, उत्तर गयासम्म फराकिलो सडक बनेमा स्थानीयका साथै तिर्थालुहरुका लागि समेत आवतजावतमा धेरै सुविधा पुग्ने र यातायातको चाप पनि न्यूनीकरण हुने उनको भनाई छ ।

गोकर्ण वन नेपाल ट्रस्टको जग्गा भएको कारण हाल रहेको पैदल हिँड्ने बाटो पनि साँघुरो, भिरालो र जोखिमयुक्त रहेकाले आवतजावत गर्नेहरूलाई असुविधा हुने गरेको उनले बताए । नेपाल ट्रष्ट अन्तर्गत रहेको गोकर्ण वनको जग्गामा पर्खाल सारेर सडक चौडा गरी १५ मिटर वा सो भन्दा फराकिलो सडक बनाउन सकिने उनले बताए ।

सो सडक निर्माण पश्चात् स्थानीय क्षेत्रको विकासको साथै आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत थप टेवा पुग्ने उनको भनाई छ । सो नागरिकहरूको मागअनुसार सडक चौडा गर्न पहल गरिदिन उनले प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस