गण्डकी वाङ्मय प्रतिष्ठानको कविता प्रतियोगितामा अविनाश प्रथम

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १३ : ०६
गण्डकी वाङ्मय प्रतिष्ठानको कविता प्रतियोगितामा अविनाश प्रथम

पोखरा । सिरहाका कवि अविनाश भट्टराई कविता प्रतियोगितामा प्रथम भएका छन् । गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँको आयोजनामा सदरमुकाम दमौलीमा शुक्रबारदेखि राष्ट्रिय साहित्य सम्मेलन अवसरमा उनी प्रथम हुँदै ५५ हजार सहित पुरस्कृत भए ।

मुलकभरिबाट प्राप्त २ सय ३७ कविताबाट निर्णायक मण्डलले पुरस्कृत कविता छनोट गरेको हो । संखुवासभाका सिजन श्रेष्ठ दोस्रो, झापाका कवि केशव भट्टराई तेस्रो भए । उनीहरुलाई क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो । अन्य ६ जना सान्त्वनास्वरुप जनही १० हजार रुपैयाँसहित सम्मानित भएका छन् । साहित्यकार सरुभक्तले उनीहरुलाई पुरस्कृत गरे ।

‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु सम्मेलन २ दिनसम्म चल्नेछ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष सागर उदास र सांस्कृतिक अध्येता काशीनाथ न्यौपानेसहितको समूहले स्मारिका विमोचन गरे । प्रतिष्ठानकी सचिव अन्जु दाहालले रोचक ढंगमा सञ्चालन गरेको कार्यक्रममा पुरस्कृतका साथै अन्य कविले आआफ्ना कविता सुनाएका थिए । कार्यक्रममा मुलुकका सातै प्रदेशका चर्चित कवि, लेखक तथा पत्रकारले भाग लिएका छन् । यसअघि २०५३ फागुनमा पहिलो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस