सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, २० : १३
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए । कानून व्यवसायी पेशा मर्यादित भएको उनको भनाइ थियो । बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उनले भने, ‘बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।’

अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताए । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताए । विगतमा शक्ति केन्द्रबाट कानून सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताए । पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानूनी राज्यको परिकल्पना अधुरो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस