परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ : रक्षामन्त्री पोखरेल

रासस

सोमबार, १४ साउन २०७५, १९ : ५६
परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ : रक्षामन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीको पछिल्लो संशोधनले नेपाली सेनाको संगठनभित्र निवृत्तिभरण, अशक्त वृत्ति र उपदानमा देखिएको सबैखाले विभेद अन्त्य भएको बताउनुभएको छ ।

सैनिक एकल महिला तथा घाइते परिवार समूहद्वारा सैनिक मुख्यालयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कर्तव्यको सिलसिलामा वीरगति प्राप्त गर्ने सैनिकका परिवारको आवाजलाई अधिकतमरुपमा सम्बोधन गर्ने सिलसिलामा सरकारले नियमावलीमा संशोधन गरेको छ ।”

रक्षामन्त्री पोखरेलले भन्नुभयो, “एकल महिला र घाइतेबाट संगठितरुपमा समाधानसहितको प्रस्ताव आएमा मन्त्रालय र सैनिक मुख्यालयले त्यसलाई कार्य तालिका बनाएर क्रमशः सम्बोधन गर्दै जानेछ ।”

चेनआफ कमाण्डका आधारमा सञ्चालन हुने नेपाली सेनालाई लोकतान्त्रिकभन्दा व्यावसायिक र आधुनिक बनाउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाली सेनाले राजनीतिक नेतृत्वलाई जहिले पनि सम्मान ग¥यो, नेपाली जनतासँग जोडिएर रह्यो, सेनाको कामप्रति जनता ढुक्क हुनु भनेको त्यो सेनाको सम्पत्ति, शान्ति सेनामार्फत नेपालको परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले संक्रमणकालीन न्याय भनेको फौजदारी मुद्दाभन्दा फरक भएकाले द्वन्द्व पीडित र प्रभावितका आवाजलाई सम्बोधन गर्नुपर्छ भन्नेमा आयोग दृढ छ भन्नुभयो ।

नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले कर्तव्य पालनाका सिलसिलमा वीरगतिप्राप्त गरेको परिवारका आवाजलाई सकेसम्म सम्बोधन गर्न संगठन तयार रहेको बताउँदै कृषिमार्फत परिवारलाई स्वरोजगार बनाउने अभियानमा सहभागी हुन सुझाव दिनुभयो ।

सैनिक एकल महिला तथा घाइते परिवार समूहकी संस्थापक एवं अधिकारकर्मी लिली थापाले वीरगति प्राप्त एवं घाइते सैनिकका परिवारलाई सैनिक सेवा प्रवेशमा आरक्षण, छात्रवृत्ति र शान्तिसेनाको सहभागितामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजक संस्थाकी अध्यक्ष शोभा विसीले वीरगति प्राप्त सैनिकका एकल महिला तथा परिवारका लागि सम्बोधन गर्न बनेको नीति तथा कार्यक्रममा व्यापक सुधारको खाँचो रहेको आँैल्याउनुभयो ।

सैनिक सेवा नियमावलीले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएमा एक तह बढुवा गर्ने, सात वर्षसम्म परिवारलाई पूरा पारिश्रमिक उपलब्ध गराउने, सात वर्षपछि निवृत्तिभरण प्रदान गर्ने, निवृत्तिभरण लिएकै अवस्थामा परिवारको मृत्यु भएमा उनका छोराछोरी २१ वर्ष नपुगेसम्म निवृत्तिभरण उपलब्ध गराउने तथा अशक्त वृत्ति, उपदान तथा समान सुविधा उपलब्ध गराउनेलगायत महत्वपूर्ण विषय समेटेको छ ।

सैनिक एकल महिला तथा घाइते परिवार समूहमा आबद्ध वीरगति प्राप्त सैनिक एकल महिला तथा घाइतेको संख्या दुई हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस