काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न अहिलेको सदनबाट ठोस निर्णय गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित भएको भन्दै यस्तो माग गरेकी हुन् ।
शून्य समयमा बोल्दै उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, भर्खरै जेठ २१ गते जातीय छुवाछुत तथा उन्मुलन दिवसको अवसरमा मोबाइलमा रिङ ब्याकटोन बजाइयो । भन्दा जातीय छुवाछुत सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय छ भनेर भनिन्छ । तर, दलित समुदायका हक र अधिकार संविधानको धारा र नारामै सीमित छन् । तर‚ पनि अहिलेसम्म समाजमा जातीय विभेदको अन्त्य भएको छैन ।'
सांसद नेपालीले संविधानको धारा २४ र ४० को कार्यान्वयनमा सरकारले चासो नदिएको समेत गुनासो गरिन् । 'संविधानको धारा २४ र धारा ४० को उपधारा १ देखि ६ तथा धारा ४२ सम्मले दलित समुदायको अधिकारबारे व्यवस्था गरेका छन् । ती विषय कागजमा छन्,' उनले भनिन्, 'अझै पनि मोबाइलमा 'रिङ ब्याकटोन' बजाएर छुवाछुत अन्त्य हुन्छ भन्ने विश्वास कायम रहेको देखिन्छ, मलाई त त्यसरी केही होला जस्तो लाग्दैन । यसबारे म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'
उनले अहिले पनि कथित सानो जात भन्ने आरोप लगाएरै दलितहरुको ज्यान लिने काम नरोकिएको बताइन् । 'संविधान र ऐनकानुनले व्यवस्था गरे पनि छुवाछुतविरुद्धको सरकारी पहल बलियो हुन सकेको छैन । दलित समुदायले छुवाछुतको युगीन दासत्व र अन्याय अहिले पनि खेपिरहेका छन्,' उनले भनिन्, 'त्यसैले जातीय छुवाछुत अन्त्य गर्न अहिलेकै सदनबाट ठोस निर्णय गर्नका लागि अनुरोध गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, १३ : १४
लेखकबाट थप