नेपाल ग्रामीण चलचित्र महोत्सवमा दीपेन्द्र, दीया र रामराजाको मास्टर क्लास हुने

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १० : ५३
नेपाल ग्रामीण चलचित्र महोत्सवमा दीपेन्द्र, दीया र रामराजाको मास्टर क्लास हुने

काठमाडौँ । लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र निर्देशक तथा अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालले फिल्म र अभिनय विषयमा ‘मास्टर क्लास’ दिने भएका छन् । काभ्रेको भकुण्डेबेसीमा बिहीबारबाट आयोजना हुन लागेको तीन दिने दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ यी व्यक्तिले मास्टर क्लास दिने भएका हुन् ।

 

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजना हुन लागेको महोत्सव तीन दिनसम्म चल्नेछ । मास्टर क्लास ग्रामीण फिल्मको विषयमा फोकस हुने सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदै छन् । आयोजकले आगामी बिहीबार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ ।

 

‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’, ‘निरमाया’सँगै तामाङ र गुरुङ फिल्महरू समेत महोत्सवमा प्रदर्शन हुनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुनेछ ।

 

स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । गत वर्ष यो महोत्सव गोरखाको लाप्राकमा आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस