अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा पूर्वउपराष्ट्रपति पेन्सको इन्ट्री

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १० : ४७
अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा पूर्वउपराष्ट्रपति पेन्सको इन्ट्री

वासिङ्टन । पूर्वअमेरिकी उपराष्ट्रपति माइक पेन्सले रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नका लागि आधिकारिकरुपमा दस्ताबेजहरू दर्ता गराएका छन् । रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्नका लागि यसअघि नै थुप्रै नेताहरूले घोषणा गरिसकेका छन् ।

 

६३ वर्षीय पेन्सले बुधबार आईओवाको टाउनहलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सम्बोधनमार्फत औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ । योसँगै उनी सन् २०१७–२१ सम्म ह्वाइट हाउसमा सहकार्य गरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उभिने भएका छन् । 

 

उम्मेदवार बन्ने दौडमा अन्य आकांक्षीहरुको तुलनामा पूर्वराष्ट्रपति ट्रम्प सबैभन्दा अघि रहेका छन् । सर्वेक्षणमा पेन्स एकल अंकको समर्थनसहित तेस्रो स्थानमा छन् । इन्डियानाका पूर्वगभर्नरसमेत रहेका पेन्स ट्रम्पसँग निकट रहेका थिए । तर, सन् २०२१ को जनवरीमा क्यापिटोलमा भएको दंगापछि उनी ट्रम्पबाट टाढिएका थिए ।

 

अब रिपब्लिकन पार्टीबाट उम्मेदवारका आकाङ्क्षीहरूले आगामी महिनादेखि आफ्नो चुनावी अभियान सुरु गर्नेछन् भने शृङ्खलाबद्ध टेलिभिजन बहसमा सहभागी हुनेछन् । हरेक राज्यमा हुने ‘प्राइमरी इलेक्सन’ अर्को फेब्रुअरीबाट सुरु हुनेछ । सबैभन्दा धेरै समर्थन प्राप्त गर्ने व्यक्ति सन् २०२४ को रिपब्लिकन कन्भेन्सनबाट राष्ट्रपतिको उम्मेदवार चुनिनेछन् । सन् २०२४ को नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवारले सम्भावितरुपमा डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडेनको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस