काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।”
यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको उनले बताए । “मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ”, उनले शुभकामना सन्देशमा भनेका छन् ।
राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको उनले बताएका छन् । वातावरणको संरक्षण तथा सम्बद्र्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई धन्यवादसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान