डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

रासस

शुक्रबार, १९ जेठ २०८०, १० : ४९
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

पाल्पा । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो ।

मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ । वन क्षेत्रभित्रको दुई सय ५० मिटर पाइप जलेपछि खानेपानीको समस्या निम्तिएको छ । यहाँका सोमै थर र थाम थरका १० घरपरिवारलाई पानीको समस्या भएको स्थानीय तिलबहादुर सुनारीले बताए । उनका अनुसार करिब साढे दुई मिटरको पाइप जलेर नष्ट भएको छ । 

सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप बाहिर निकालेका पाइपमा क्षति पुगेको छ । निस्दी गाउँपालिका–४ झ्याल्टुङको मुहानबाट ल्याएको पानी स्थानीयले वषौँदेखि पिउँदै आएका थिए । पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौँ लागेर पानी बोकेर खाने बाध्यता सिर्जना भएको स्थानीय मञ्जु सारुले बताइन् । 

गाउँमा लिफ्टिङ प्रणालीको योजना रहेता पनि घाम लागेका समय पानी आउने र अन्य समय बन्द हुने हुँदा मुहानबाटै पानी बोकेर पिउनुपरेको स्थानीयले बताएका छन् । वन डढेलोका कारण बर्सेनि स्थानीयले सास्ती भोग्नु परिरहेको छ । जथाभावीरूपमा  जङ्गलमा आगो लगाउने कार्यले पाल्पामा हरेक वर्षजसो नै विभिन्न क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस