नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १५ : ४२
नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशिभूषण कुमार यादव​विरुद्ध झन्डै साढे ४ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादवले ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ  गैरकानूनी सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यादवले नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको खुलेको हो ।यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गते देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ आर्जन गरेका थिए । जसमध्ये ४ करोड ४७ लाख रुपैयाँको स्रोत खुल्न नसकेको अभियोगपत्रमा उल्लेख छ ।

यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे/बढाएको सम्पत्तिको जफत गर्न मागदाबी गरेको छ ।अख्तियारले उनको पत्नी रिता रानी र छोराहरू अविनास यादव र विकास यादवलाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस